सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने

काठमाडौँ । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधवार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । 

बुधवार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्नुभएको थियो । सन्दीपको तर्फबाट पनि दुई जना कानुन व्यवसायीले बहस गर्नुभयो ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । मङ्गलवार सन्दीपको बयान गराइएको थियो । 

बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । 

 

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ३१ बजे