एमालेले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने, अध्यक्ष ओली भोलि दार्चुला जानुहुँदै

काठमाडौँ । नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

एमालेले दार्चुलाको खलङ्गामा शुक्रवार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । चुनावी अभियानको सुरुवातका लागि एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार नै दार्चुला जाँदै हुनुहुन्छ । 

उहाँले शुक्रवार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । अध्यक्ष ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसक्नुभएको छ ।

सुदूरपश्चिम पश्चात् अध्यक्ष ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ लुम्बिनी जानुहुने उहाँको सचिवालयले जनाएको छ  ।अध्यक्ष ओली कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने कार्यक्रम एमालेले जनाएको छ । 

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्य तालिका तय भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : २४ बजे