दोलखामा माओवादीको मत १४ हजार मात्रै, यसरी हुनसक्छ, एमाले उम्मेदवारको पल्लाभारी

चरिकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सम्भावित नतिजाबारे विश्लेषण हुन थालेको छ । दोलखामा पनि स्थानीय तहको मतपरिणामलाई आधार मानेर बिभिन्न अड्कलबाजी सुरु भएको छ । जिल्लामा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवार प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका छन् । प्रतिनिधिसभातर्फ एमालेबाट वालकृष्ण शिवाकोटी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्की ‘विश्व’ बीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । यसैगरी प्रदेशसभा १ (क) तर्फ एमालेका नरबहादुर श्रेष्ठ र कांग्रेसका कुन्दन काफ्ले तथा प्रदेशसभा २ (ख) तर्फ एमालेका भरत केसी र कांग्रेसका बर्मा लामा चुनावी मैदानमा छन् ।  

यस्तो छ, पालिका निर्वाचनको अंकगणित
गत स्थानीय  तह निर्वाचनमा दोलखाका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेस र माओवादीले समान ३ वटा पालिका प्रमुख जितेका छन् । एमालेले २ तथा एकीकृत समाजवादीले १ स्थानीय तहको नेतृत्व जितेका छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा दोलखामा नेकपा एमाले धेरै अगाडि छ । एमालेको मत ३९ हजार ५० रहेको भने कांग्रेसको ३३ हजार ४३९ मत छ । माओवादी केन्द्रको मत १७ हजार ३७५ हजार छ भने एकिकृत समाजवादीले ३ हजार १५१ मत पाएको छ ।  

यसकारण हुनसक्छ, एमालेको पल्लाभारी
पलिका निर्वाचनको नतिजा अनुसार माओवादी केन्द्रको मत तेस्रो अर्थात १७ हजार ३७५ मात्रै छ । यो आम निर्वाचनमा उसले अघि सारेको संघको उम्मेदवारलाई जिताउन गठबन्धनमा रहेका अन्य दलको मत तान्न ठुलो कसरत गर्नुपर्ने हुन्छ । गठबन्धनको पक्षमा रहको भोट शतप्रतिशत झर्दा मात्र माओवादी केन्द्रको उम्मेदवारलाई जित सहज हुनसक्छ । स्थानीय निर्वाचनमा एमाले भित्र भएको ठुलो अन्तरघातको मत पनि गठबन्धनको पक्षमा झरेको एमाले नेताहरुको बुझाई छ । उनीहरु दाबी गर्छन्, यो निर्वाचनमा पार्टी एकढिक्का भएर निर्वाचनमा होमिएकाले अन्तर्घातको कुनै गुन्जायस छैन । बरु कांग्रेस र एकिकृत समाजवादीको अधिकांस भोट समेत तान्ने उसको रणनीति छ । गठबन्धनका कतिपय स्थानीय नेताहरुले सार्वजनिक रुपमै माओवादी उम्मेदवारलाई सहयोग गर्न नसकिने बताईरहेका छन् ।  

केही पालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन तोड्दै छुट्टाछुट्टै उम्मेदवारी दिएको तुस मेटिनसकेको गठबन्धनकै नेताहरु स्वीकार गर्छन् । गठबन्धन सरकारप्रति जनतामा देखिएको असन्तुष्टि पनि एमालेले जित्ने अर्को आधार बन्नसक्ने नेताहरुको आँकलन छ ।  

गत निर्वाचनमा प्राप्त गरेको मतको रक्षा गर्दै केही हजार मत थप्न सके एमाले उम्मेदवारले जित हात पार्न सक्छन् । 
दोलखामा पछिल्लो अद्यावधिक नामावली अनुसार मतदाता संख्या १ नम्बर क्षेत्र (क) तर्फ ८११३८ र २ नम्बर क्षेत्र (ख) तर्फ ८०३१७ गरी जम्मा १,६१४५५ रहेको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ५६ बजे