निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँले मङ्गलवार बयान लिने काम सकिएको र आज थुनछेक बहस हुने जनाएको छ । 

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलवार लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको थियो । लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफू विरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ०० बजे