तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेच्नुभएको छ । 

भरतपुर महानगरपालिका–२६ दिव्य नगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो । 

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।” 

यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उहाँ बताउनुहुन्छ । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उहाँले बताउनुभयो । फूल बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिनुभयो ।

“मैले उत्पादन गरेको फूल सबै जिल्लाभित्रै खपत भयो”, उहाँले भन्नुभयो, “केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।” उहाँले अझै रु चार÷पाँच लाखको फूल बारीमा नै रहेको बताउनुभयो । “मङ्सिरमा बिहेको लगन आउँदै छ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उहाँले भन्नुभयो । 

उहाँले रु १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई रु छ–सात लाख बचत हुने बताउनुभयो । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उहाँले तोरी लगाइसक्नुभएको छ ।

“यस पटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु”, उहाँले भन्नुभयो, “वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।” उहाँले २६ वर्ष अघिसम्म काठमाडौँमा पढाउने काम गर्नुभएको थियो । “काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उहाँले भन्नुभयो, “त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूल खेती बन्यो ।” 

यसपालिको तिहारमा उहाँले एउटा मालाको रु एक सयमा बिक्री गर्नुभयो भने प्रतिकेजी रु चार सयमा बिक्री गरेको सुनाउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आउनुभएको छ । चितवनमा यो पेसा गर्नुभएको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उहाँले नौबिसेबाट पुष्प खेतीको सुरुआत गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरेँ, यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।”

अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उहाँको भनाइ छ । “तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ”, उहाँले भन्नुभयो, “बीउ आफैँ खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ ।”

हिजोआज सयपत्री फूल व्यावसायिक रूपमा सुरु गर्न करिब रु ५० हजार भए पुग्ने उहाँ बताउनुहुन्छ । “पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।”

यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरूका दुई छोरी र दुई छोरा छन् । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बन्नुभएको छ । “फूल खेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो । बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिक रूपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उहाँको भनाइ छ ।

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसक्नुभएको छ । जो अहिले व्यावसायिक रूपमा फूल खेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । उहाँ नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउनुहुन्छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ३१ बजे