खानीखोलाका सबै वडाहरूलाई सडक सञ्जालले जोड्नेछौँ ः रेशम लामा 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेशम लामाले खानीखोलाका सबै वडाहरूलाई  सडक सञ्जालले जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

खानीखोलाको तालढुङगा लगायतका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले स्थानीय मतदाताहरू समक्ष यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“खानीखोलाको भूगोल र समाजसित परिचित छु । यहाँका जनताको सुख र समृद्धिका लागि योजना सहित चुनावमा होमिएको हु ।” एमाले केन्द्रीय सदस्य एवम् पूर्व राज्य मन्त्री समेत रहनुभएका लामाले भन्नुभयो ।

एमालेको पहलमा मोटर बाटो बनेपछि अहिले खानीखोलामा अस्पताल, प्रहरी चौकी, शैक्षिक संस्था, खानेपानी लगायत पूर्वाधारहरू धमाधम बन्न थालेको उहाँको भनाई छ । 

त्यसैगरी, प्रदेशसभा १ (ख) का उम्मेदवार एवम् बागमती प्रदेशका पूर्व मन्त्री चन्द्र लामाले आफू सांसद हुँदा खानीखोलालाई सबैभन्दा प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको बताउनुभयो । आफ्नो कार्यकालमा अधुरा रहेका विकास योजनाहरू पूरा गराउन पुनः आफूले उम्मेदवारी दिएको उहाँले स्पष्ट पार्नुभयो ।

​​​​​​​उहाँले स्थानीयहरूसँग एमालेको पक्षमा मतदान गर्न अनुरोध गर्दै भन्नुभयो, “तपाईँको मतले विजय प्राप्त हुनेछ र त्यो विजयलाई विकासमा बदल्ने छु।”

चन्द्र लामाले प्रदेश सांसद हुँदा खानीखोलाको भौतिक विकासका लागि गर्नुभएको पहलका निम्ति खानीखोलाबासीले खुलेर प्रशंसा गरेका छन् । 

उहाँले खोपासी तालढुङगा सडक, तालढुङगा जगथली सडक, सिरानकुलो तालढुङगा सिँचाइ, कुस्पा बृहत् खानेपानी योजना, लिफ्टिङ सिँचाइ,  तालढुङगा, महाङकाल, खजुरीबेंसी लगायतमा खेलमैदान, त्रिवेणी, मिल्चे र महाबर बृहत् खानेपानी लगायता दर्जनौँ पूर्वाधार विकासमा बजेटको व्यवस्था गर्नुभएको थियो  । 

नेकपा (एमाले)ले मङ्गलवार खानीखोलाको वडा नम्बर ५ अन्तर्गत तालढुङ्गा, वडा नम्बर ६ को कुस्पा, वडा नम्बर ७ अन्तरगतका धाप्ले, मिल्चे र महालङ्कामा चुनावी सभाको आयोजना गरेको थियो । ​​​​​​​​​​​​​​

सो सभालाई काभ्रे निर्वाचन क्षेत्र नं १ परिचालन कमिटीका संयोजक इन्द्र लामा, सह संयोजक विदुर हुमागाईँ, एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष एवम् संविधानसभाका सदस्य रामहरि सुवेदी, जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रदेश १ (ख)का निर्वाचन परिचालन संयोजक शान्ता न्यौपाने, अनेरास्ववियु  केन्द्रीय महासचिव समिक बडाल, खानीखोला गाउँ कमिटी सचिव मानबहादुर गोले,  बडा नं ७ का इन्चार्ज बुद्धिबहादुर थिङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

संविधानसभा सदस्य रामहरि सुवेदी र रेशम लामाको पहलमा सांसद विकास कोष र  जिविसको कुल ७१ लाख बजेट व्यवस्था भएपछि २०७३ साल पुसमा खानीखोलालाई मोटर बाटोसँग जोड्न सफल भएको थियो । 

ललितपुरको होचिटारदेखि खानीखोलाको तालढुङ्गासम्म करिब १५ किलोमिटर ट्र्याक खोलेपछि यहाँको जनताले यातायातको सुविधा उपभोग गर्न पाएका थिए । तर बर्खा याममा यातायात नचल्दा भने स्थानीयहरू दुःखी छन् । कुस्पागाउँदेखि कार्यक्रम हेर्न आउनुभएका सागर रानाले भन्नुभयो,  “बाटोको स्तरोन्नति हुन सकेन। खई कसलाई भन्ने हो ।”

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : १० बजे