मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । 

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । 

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ । पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । 

पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवा पङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको  मैथिल संस्कृतिका जानकार बर्दिबास नगरपालिका–२ का पण्डित महेशकुमार झाले बताउनुभयो ।

पर्वमा खास गरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरी डाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । मिथिलामा आज (कार्तिक शुक्ल नवमी)को दिनलाई कुष्माण्ड नवमीसमेत भन्ने गरिएको छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १२ बजे