सन्दीपको बयान : किशोरीले मलाई अर्को कोठा लिन दिइनन्,डर लाग्छ भनिन् (पूर्णपाठ)

काठमाडौँ । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।

यस्ताे छ सन्दीपकाे बयान 

नगरकोट जाने क्रममा हामी बिच धेरै जसो कुरा क्रिकेट र मेरो संगितको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौ । म प्राय जसो आफ्नो family र साथीहरुसँग  कहिले काँही नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोट स्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतानि हामी दुईजना बिच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन । करिब २०:३० बजे तिर हामी बोजिनी रिसोर्टमा संगित सुन्दै हासी खुसीका साथ नगरकोट गएका थियौं । उक्त रिसोर्ट पुगी सकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केहि समयमा खाजा अर्डर गरेका थियौ । हामी दुबै जनालाई संगित मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गित गाउन धेरै नै मनपर्ने र मलाई गित सुन्ने ईच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केहि गित गाउँदै रमाईलो गरेका थियौं । केहि समय पछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंको view हेरी रहेको थिएँ । त्यसै बिचमा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) मेरो पछाडी आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिईन । त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होईन, ढिला भैसक्यो, रात पर्‍यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेला सम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केहि छैन, यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरी हामी फर्किने गरी आएको, भोली मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझन भन्दा निजले सायद सन्दिप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैवाट गाडीको लक खोली दिएको थिए । त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गए । बिल तिरी सकेपछि हामी दुबै जना करीब २३:०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टवाट हिँडेका थियौं । हामी बोजिनी रिसोर्टवाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठिक गर्नका लागी गाडीमा मिठो मिठो गित लगाएँ । त्यस्को केहिछिन पछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३:१५ बजे तिर हुनु पर्छ, मलाई  निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्‍याईदिन्छु भन्दा कहाँ हुन्छ, यति राती भई सक्यो, होस्टेल बन्द भईसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् । निजको त्यो कुरा सुनेर म एकछिन छक्क  परें, अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होईनौ, अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोहि क्रममा निजलाई एउटा फोन आएको थियो तर निजले फोन उठाईनन् र म्यासेज मार्फत आफ्नो साथीलाई HE DROPPED ME AT MY FRIEND’S PLACE AND I AM SAFE. I WILL COME TOMMOROW MORNING भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झुठ बोलेको, भोली कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा DON’T WORRY, फेरी पनि होस्टेल बाहिरबाट कोहि कसैले फोन गर्‍यो भने म होस्टेलमा छु भन्छु र होस्टेल भित्रवाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् । निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिईन तर उक्त कुरा झुठो बोलेकी रहेछिन भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईसँग जान्छु, तपाईसँगै धेरै कुरा गर्नु छ र मेरा केहि व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु, त्यहि गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिंदै त्यहा सबै खेलाडीहरु हुन्छन, त्यसमाथी देव पनि त्यहि हुन्छ भन्दै आनाकानी गर्न थालिन । निज आनाकानी गरेको देखी, ठिकै छ नि त, म भोली क्रिकेटका लागी बाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन, मलाई जसरी भए पनि पुग्नुपर्छ । म तिमीलाई मैले चिनेको र म लगायत अन्य खेलाडीहरु कहिलेकाँही क्याम्पका लागी जाने Hotel Kathmandu Inn मा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेल सम्म पुर्‍याई दिनका लागी बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल Hotel Kathmandu Inn मा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ । Hotel Kathmandu Inn मा पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउछु भनेपछि निज गाडीबाट आफ्नो मोबाईल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ । मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन, त्यसपछि म त्यहि कोठामा गएँ, कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई ईनफम गरें । त्यसपछि कोठाको ए.सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३:५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगीसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिईन । मैले किन ढोका लक गरेको भन्दा केहि हुदैन, it’s ok भन्दै जवाफ फर्काईन । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहे भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागी बाथरुम गई पुनः कुर्चीमा आई बसें । त्यसपश्चात खेल जिवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोहि क्रममा मेरो व्यक्तिगत जिवनको बारेमा कुरा गर्दा मैले मेरो girl friend रहेको र छिटै मेरो १/२ वर्षमा बिवाह गर्ने योजना बनाएको कुरा समेत गरेको थिएँ । त्यसपछि मैले तिम्रो बारेमा भनन त भन्दा मेरो घर नुवाकोट हो तर म बिरगंजमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद (divorce) भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं  त कहिले पोखरा गर्दै बिचबिचमा बिद्यालय परिवर्तन गर्दै अहिले पुन काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिती समेत राम्रो नरहेको कुरा बताइन् । कुराकानीको क्रममा निज उदास देखिएकोले मैले don’t worry सब ठिक हुन्छ, दुखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठिक नरहेकोले निजले मलाई sponsership का लागी समेत कुरा गरेको र sponsership ले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले  मैले ठिकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरी उदास भएको देखेपछि मैले केहि गित सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३:४५/ ०४:०० बज्यो । कुराकानी कै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिईन । यो कुरा सुन्दा निजमाथी शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोली बिहान होस्टेलसम्म पुर्‍याई दिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यहि बस्नुस, हामी यहि कुराकानी गरौँला भनी आग्रह गरिन । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यहि सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन्  र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यहि बस्नुस् , हामी यहि बसी अझै केहि गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सिमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहि ठिक छु भन्दै निजको आग्रहलाई अस्विकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् । मैले मेरो मोबाईलमा बिहानको ०६:०० बजे alarm लगाई  कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ०६:०० बजे alarm बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिईन, मैले निजलाई उठाएँ । म फेरी बाथरुममा फ्रेस भई आई निजलाई तिमी breakfast मा केहि लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६:४५ बजे तिर हामी होटलवाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भर्‍याङबाट छिटै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निजपनि  खुसी हुदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडी दिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोहि साँझ म लगायत मेरो क्रिकेट टिम भई केन्यातर्फ लागेका थियौं । केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा busy  हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडिया मार्फत एक्कासी निज पीडित भनीएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को दाई परिवर्तित नाम गौशाला २६ (छ) (०७९।०८०) ले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगीसकेको र आफ्नो boy friend  समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ-आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी सन्दिप लामिछानेको बयान ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ०७ बजे