यस्तो छ गुजरातमा भाँचिएको पुलको रामकहानी

भारत । भारतको गुजरातको मोरबी जिल्लाको मच्छु नदीमाथि बनेको झोलुङ्‍गे पुल भाँचिएको छ।

आइतबार साँझ सो पुल भाँचिदा करिब १४१ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। मोरबीको गौरव मानिने यो पुल १४३ वर्ष पुरानो हो। समाचारमा जनाइएअनुसार मोरबी पुल भारत स्वतन्त्र हुनुअघि बेलायती शासनकालमा बनेको थियो।

माच्छु नदीमा बनेको यो पुल मोरबीको प्रमुख पर्यटकीयस्थल थियो। मोरबीका राजा प्रजावत्सली वाघजी ठाकोरले यो पुल बनाएका थिए। जसको उद्घाटन १८७९मा भएको थियो। राजा ठाकोर दरबारबाट मोरबी पुल हुँदै राजदरबारमा जाने गर्दथे भनिएको छ।

ब्रिटिस इन्जिनियरहरुले बनाएको सो पुलको निर्माण अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो। बेलायती शासनकालमा बनेको यो पुल राम्रो इन्जिनियरिङको प्रतीकको रुपमा मानिन्छ । राजकोट जिल्लाबाट ६४ किलोमिटर टाढा मच्छु नदीमाथि बनेको यो पुल सबैको आकर्षणको केन्द्र थियो।

७६५ फुट लम्बाई र ४ फुट चौडाइ भएको पुल ऐतिहासिक भएकाले गुजरातको पर्यटकीय सूचीमा परेको थियो।

अन्नपूर्ण पाेष्ट

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : २३ बजे