राजनीतिक स्वार्थपूर्तिका लागि जनतामा भ्रम नछरौँ :उपाध्यक्ष पौडेल

​​​​​​​बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतङ्कित नपार्न आग्रह गर्नुभएको छ । 

उहाँले राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको बताउनुभयो ।

बुटवल–११ युद्धनगरमा आज पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उहाँले यहाँका जनतालाई आतङ्कित नहुन आग्रह गर्नुभयो । 

करिडोर निर्माणका कारण यहाँका स्थानीयको घरबास उजाडिने कुरा गलत भएको भन्नुहुँदै उहाँले महत्त्वाकाङ्क्षी र ठुला विकासका आयोजनामा गलत ढङ्गले भ्रम फैलाएर आतङ्कित पार्ने गरिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबारविहीन नबनाइने उल्लेख गर्नुभयो। 

यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो   ।

“यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतङ्कित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन” उहाँले भन्नुभयो, “भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईँहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।”

रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ विकास गर्ने गरी बृहत् रहेको उल्लेख गर्नुभयो । रुपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने दाबी पनि गर्नुभयो।

एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनाबद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गर्नुभयो। 

विगतमा आफूले सुरु गरेका योजनालाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने उहाँले दाबी गर्नुभयो ।  

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ४९ बजे