संसदीय चुनावमा स्थानीय चुनावमा जस्तो एक्लो जितेर काम गर्ने होइन, समूहमा बहुमतले जित्नुपर्छ किनभने स्थानीय चुनावमा जित्नेले कार्यकारी अधिकार प्राप्त गरेको हुन्छ भने संसदीय चुनाव जित्नेहरू मिलेर बहुमतले कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री चुन्नुपर्छ । यसर्थ कुनै एउटा दललाई बहुमत पुग्ने गरी मतदान गर्नुपर्छ । त्यसैले हामी कुनै भ्रममा नपरौँ, केही नयाँ पार्टी र कैयौँ स्वतन्त्र उम्मेदवारहरू आफू जित्न होइन, देश हराउन उम्मेदवार बनेका छन् । उनीहरू जनमन भ्रमित र जनमत विभाजित बनाएर कम्फर्टेबल गठबन्धन जिताउने र बाह्य स्वार्थ बलियो बनाउने अभियानमा छन् । त्यसैले त उनीहरू आफ्ना दाता तथा विधाताहरू रिसाउने डरले राष्ट्रिय मुद्दाहरूमा केही पनि बोल्दैनन् ।
अब कुन दललाई बहुमत दिने ? यो प्रश्नमा हामी केन्द्रित हुनुपर्ने भएको छ । उपलब्ध दलहरू मध्ये कुन दलले देशको स्वार्थ हेरेको छ र बहुमत खोजेको छ ? सोअनुरूप उम्मेदवार उठाएको छ अनि देशको पक्षमा उसको विगतको व्यवहार कस्तो थियो ? भोलिका लागि आज कस्तो प्रतिबद्धता गर्दैछ ? त्यसको सूक्ष्म वस्तुनिष्ठ विश्लेषण गर्दै गुण दोषको तुलना गरेर कुनै एक दल नै रोज्नुपर्छ । त्यो दल र दलको विचार कुन हो ? जनताले चिन्नु पनि पर्छ ।
जनतामा दल र विचार चिन्ने क्षमता विकास गर्नु देशभक्त तथा वामपन्थी शक्तिको मुख्य जिम्मेवारी बनेको छ । किनभने मङ्सिर ४ को चुनाव देश जिताउने र हराउने बीचको प्रतिस्पर्धा हो । राज्य सत्ताको नेतृत्व गर्न बहुमत चाहिन्छ, यतिखेर बहुमत आउने र ल्याउने क्षमता भएको दललाई जिताउन जनताले विवेक पनि पुर्याउनुपर्छ । स्वतन्त्र भनेर वा केही नयाँ र साना पार्टीको पछि लाग्दा बाह्य स्वार्थमा काम गर्नेहरूले जित्न सक्छन् कि भनेर होसियार हुनुपर्छ । त्यसैले ’आफू हारेर पनि देशलाई जिताउने’ हो भने यतिखेर तुलनात्मक रूपमा देशभक्त र प्रगतिशील दल र उम्मेदवारको पक्षमा उभिएर देश विरोधीहरूलाई हराउन हामीहरू तयार हुनुबाहेक हामीसँग तत्काल अन्य कुनै विकल्प नै छैन ।
आम मतदाताले ठिक दल र त्यो उम्मेदवारहरू रोज्न नसकुन् र संसद् त्रिशंकु बनाउन सकियोस् भनेर एकातिर नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरूमार्फत जनमन भ्रमित र जनमत विभाजित बनाउन खोज्दै छन् भने अर्कातिर सत्ता गठबन्धनमा रहेका दलहरूले जनतालाई सत्ता शक्तिको दुरुपयोग गरेर तर्साउने काम गरिरहेका छन् । उनीहरूको यो प्रयासहरूलाई सफल बनाउन बाह्य शक्तिहरूले सबै खाले सहयोग र रणनीति प्रयोग गरिरहेका छन् । किनभने कुनै एउटा दल बलियो र त्यो दलले बहुमत नपाओस् अनि स्थायी सरकार नबनोस् भन्ने रणनीतिअनुसार सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यमहरूमार्फत जनमन भ्रमित पार्न खोजिँदै छ । हिजो जनादेश विरुद्ध परमादेश, नेकपा हुँदै नेकपा एमालेको विभाजन अनि अझै पनि एमालेभित्र एमाले विरोधी गतिविधिहरू बाह्य स्वार्थमा भएको थियो र भइरहेको छ ।
जब हामीले नकारात्मकताबाट आफूलाई टाढा राख्न सक्छौँ तब मात्र देशमा सकारात्मक परिणामहरू देखिन थाल्नेछ । आज नकारात्मक पक्षहरूलाई पूर्ण रूपमा पन्छाएर सकारात्मक पक्षलाई मात्र अपनाउन सक्यौँ भने बदलिएको राजनीतिक व्यवस्थाले बढाएको जनअपेक्षाहरूको सम्बोधन गर्दै देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्छौँ । यसर्थ हामीले राजनीतिक रूपमा देशको स्वार्थ विपरीत कार्यशील पात्र, प्रवृत्ति र पार्टीहरूलाई पन्छाउन मङ्सिर ४ लाई पूर्ण रूपमा उपयोग गर्न सक्नुपर्छ ।
आगामी निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले प्रत्यक्षमा १६५ मध्ये ८९ सिटमा मात्र आफ्नो उम्मेदवार उठाएको छ । नेपाली काँग्रेसले प्रत्यक्षमा उठाएको सबै सिट जित्दा पनि आफ्नो पार्टीको बहुमतको सरकार बनाउने क्षमता राख्दैन र आधार पनि देखिदैन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रणनीति पनि कांग्रेसलाई बहुमतमा पुग्न नदिने नै हो तर काँग्रेसको नेतृत्वले अझै पनि प्रचण्डको रणनीतिको भेउ पाएका छैनन् । नेपाली काँग्रेसका सहयोगी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीमा बहुमतको सरकार बनाउने क्षमता हुने कुरा नै भएन ।
नेकपा एमालेले १४० प्लस क्षेत्रमा उम्मेदवार उठाएको छ । बाँकी क्षेत्रहरू केही स्वतन्त्र र अन्य सहयोगी पार्टीका उम्मेदवारहरूलाई समर्थन गरेको छ । अब नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी रणनीतिको तुलनात्मक अध्ययन र विश्लेषण अनिवार्य आवश्यक भएको छ । गठबन्धनभित्र नेपाली काँग्रेस बलियो बन्दाभन्दा कमजोर बन्दा मात्र आफ्नो रणनीति सफल हुने आँकलनका साथ प्रचण्डले गठबन्धनभित्र अर्को गठबन्धन बनाएका छन् । प्रचण्डको यो कुटिल चाल नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरूले बुझ्नुपर्छ र माओवादी केन्द्र अनि उसका सहयोगी दलका उम्मेदवारहरूको विपक्षमा मतदान गर्ने अभियान चलाउनु सक्नुपर्छ । त्यसैले आम मतदाताले नेपाली काँग्रेस र नेकपा एमाले मध्ये कुन दलले बहुमत ल्याउन सक्छ र ल्याउँदा देशको स्वार्थ बलियो हुन्छ? छुट्याउन पनि सक्नुपर्छ ।
फेरि ‘नो नट अगेन’को अभियान चलाउनेहरू जनमन भ्रमित बनाउँदै उनीहरू विचारहिन दक्षिणपन्थी राजनीति गर्नेहरू र नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूको गोटी बनेका छन् । यसले देशलाई घात गरिरहेको छ भनेर उनीहरूले बुझ्न सकिरहेका छैनन् । अमुक पार्टीका मुख्य नेताहरू हराउँदैमा राजनीतिक व्यवस्था र देशको अवस्थामा कुनै तात्त्विक फरक देखिने वाला छैन । बरु राष्ट्रिय मुद्दाहरू – नागरिकता विधेयक, एमसीसी, एसपीपी, परराष्ट्र तथा आर्थिक नीति अनि शिक्षा तथा स्वास्थ्य प्रणालीका बारेमा सकारात्मक हस्तक्षेप गर्ने क्षमता देखाउन सक्नुपर्थ्यो । तर त्यसो गरिरहेका छैनन् किनभने उनीहरू आयातित नारामा रमाउँदै छन्। तर दुर्भाग्य नै भन्नुपर्छ, हाम्रा कतिपय राजनीतिक विश्लेषक र बुद्धिजीवीहरू त्यस्ता भ्रमहरू चिर्नुभन्दा त्यसलाई बढवा दिएर आफ्नो विज्ञता प्रदर्शन गर्दै छन् ।
हिजो डिभी भर्यो, नेपाली नागरिकता त्यागेर अमेरिकन बन्यो। उतै भविष्य बनाउने भनेर वैधानिक अवैधानिक विवाह पनि गर्यो । अवैधानिक विवाहले अमेरिकामा बस्न समस्या भएपछि पहिचान लुकाएर नेपाल बस्यो। वैधानिक विवाहलाई सम्बन्ध विच्छेद गर्यो। कान्छी घरमा अर्को कान्छी भित्र्यायो । नागरिकताको प्रश्न उठेपछि अमेरिकी नागरिकता त्यागेर नेपाली हुँ भन्यो । अहिले त्यही पात्र हामीलाई नैतिकता र देश कसरी बनाउने भनेर सिकाउन खोज्दै छ र देशमुखी राजनीतिलाई कमजोर बनाउने राजनीति गर्दैछ । अहिले चितवनतिर घर किनेर म अब चितवन बासी हुँ भन्दै छ । युवा मतदाताहरूले भ्रममा परेर त्यस्ता पात्रको वाहवाही गर्दा बौद्धिक वर्ग मौन बसेको देख्दा उदेक लाग्छ ।
अहिले पाँच दल र त्यो पात्रले नेतृत्व गरेको पार्टीबीच अघोषित मोर्चा बन्दी भएको छ । काठमाडौँमा गगन थापालाई जिताउन आफ्नो पार्टीको उम्मेदवारी फिर्ता गरेको छ । तर हामी भने सत्य तथ्य नबुझी लहलहैमा लागेर राजनैतिक रूपमा साक्षर नभई त्यस्ता अनैतिक पात्र जिताउने भूमिकामा देखिएका छौँ । जसले गर्दा त्रिशंकु संसद् बनाउन चाहने बाह्य शक्तिको रणनीति सफल बन्ला कि भनेर आशङ्का बढेको छ । देशमुखी राजनीतिलाई बलियो बनाउने हो भने हामीसित अझ पनि समय बाँकी नै छ । त्यसैले भ्रम, प्रभाव र प्रलोभनमा नपरी हामीले मङ्सिर ४ मा हाम्रो मताधिकारको सही प्रयोग गर्नुपर्नेछ र आम मतदातालाई मताधिकारको ठिक प्रयोग गर्न सघाउनु पनि पर्नेछ ।
२०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी ठिक भन्ने पात्रहरू यतिखेर एकजुट भएर त्यतिखेर नाकाबन्दी असफल बनाउन नेतृत्व गर्ने केपी ओली र नेकपा एमालेलाई हराउनुपर्छ भनेर घोषित अघोषित गठबन्धन बनाएर नै चुनावमा साझा उम्मेदवारहरू उठाएका छन्। त्यसैले पनि होला, आगामी निर्वाचन केपी ओली अर्थात् नेकपा एमाले भर्सेज बाँकी दल अर्थात् कम्फर्टेबल गठबन्धन हुने भएको छ । बाह्य शक्तिहरू नेकपा एमालेलाई कमजोर बनाउन नसक्दासम्म नेपालमा नियन्त्रित अस्थिरता कायम गरेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्न भन्ने मान्यताका साथ आफ्नो प्रभाव र दबाब बढाइरहेका छन् । दक्षिणपन्थीहरू राजनैतिक तथा वैचारिक रूपमा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता नभएपछि एमाले र केपी ओलीका विरुद्ध जनमन भ्रमित बनाउन भ्रामक समाचार, टिप्पणी र विश्लेषण सम्प्रेषण गर्दै छन् र अन्तर्वार्ता पनि लिँदै छन् । यतिखेर नेकपा एमालेले गठबन्धनसँग मात्र होइन कम्फर्टेबल मिडियाहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने राजनैतिक परिस्थिति बनेको छ ।
आजको राजनीतिक मुद्दा नागरिक पलायन रोक्दै जनअपेक्षाहरूको प्राथमिकताका आधारमा सम्बोधन गर्दै राज्य संयन्त्रहरू प्रभावकारी र जनमुखी बनाउनु हो । त्यसैले “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न कस्तो राज्य प्रणाली र शासकीय स्वरूप आवश्यक छ ? कुन राजनीतिले त्यो आवश्यकता बुझेको छ? शिक्षा र राजनैतिक प्रणाली अनि नीतिहरू बीचको सम्बन्ध कस्तो हुनुपर्छ? भन्ने प्रश्नहरूमा केन्द्रित भएर बहस गर्नुपर्ने भएको छ । तर हाम्रो ध्यान त्यतातिर जान नदिन अमुक नेता र पार्टीलाई हराउने लक्ष्यका साथ नो नट अगेनको नारा लगाईंदैछ । राष्ट्र, राष्ट्रियता, राजनीतिक स्थिरता र सम्वृद्धिको मुद्दाप्रति नो नट अगेनको अभियान चलाउनेहरूलाई कुनै सरोकार छैन किनभने उनीहरू आफ्नो असल र सबल पक्ष भन्न वा देखाउन सक्ने अवस्थामा छैनन्। फलानो फलानो नेतालाई हराउनु पर्छ भन्छन् तर त्यसको विकल्प के हो भन्ने सामर्थ्य राख्दैनन् ।
खासगरी नो नट अगेनको अभियानले केपी ओली र नेकपा एमालेलाई हराउने उद्देश्य लिएको छ । किनभने एमाले कमजोर बनाएर मात्रै केपी ओलीलाई कमजोर बनाउन सकिन्छ र एमाले अनि केपी ओली कमजोर भए मात्रै बाह्य स्वार्थ पूरा गर्ने वातावरण बन्न सक्छ भन्ने बुर्जुवा दक्षिणपन्थीहरूको निष्कर्ष छ। फेरि गगन थापाले शेरबहादुर देउवालाई चुनाव हराउन सके आगामी प्रधानमन्त्री बन्न आफूलाई सजिलो हुन्छ भनेर नो नट अगेन अभियानलाई प्रयोग गरिरहेका छन् । आगामी चुनावमा कसलाई र किन जिताउने ? भन्ने प्रश्नमा स्पष्ट नभई हामीले देशको पक्षमा मताधिकार प्रयोग गर्न सक्दैनौँ । त्यसैले चुनावी अभियानलाई राजनैतिक साक्षरताको अभियान बनाउन देशभक्त तथा वामपन्थी शक्तिहरू मन, वचन र कर्मले तयार हुनै पर्छ । अनि देश जित्ने राजनीति स्थापित गर्ने राजनैतिक माहौल तयार गर्नुपर्छ ।
प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ८ : २१ बजे
प्रतिक्रिया