गुजरातको मोरबीमा छठ पूजामा पुल भत्किदा ९१ जनाको मृत्यु

अहमदाबाद ।  गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । 

आइतबार छठको समयमा मानिसहरूको ठुलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । 

ब्रिटिशकालीन उक्त पुल पुनः निर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । 

यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ । 

अहमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब पाँच सय मानिसहरू भेला भएका बेला भत्किएको थियो । 

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन् ।फसेका केही मानिसको उद्धार गरिएको थियो ।

मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् । ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । 

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो । एजेन्सी

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे