जिहादी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

बुर्किना फासो। बुर्किना फासोको पूर्वी प्रान्तमा संदिग्ध जिहादी समूहले आक्रमण गरी १३ सैनिकको हत्या गरेको सुरक्षा स्रोतले आइतबार एएफपीलाई जानकारी दिएको छ । 

आक्रमणमा सेनाका चार सदस्य घाइते भएको सैनिक स्रोतले जनाएको छ । सेनाका अनुसार आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कैयौँ विद्रोही हताहत भएको बताइएको छ ।

बुर्किना फासोमा सात वर्षदेखि जारी विद्रोहका क्रममा हजारौंको ज्यान गएको छ भने करिब २० लाख मानिसलाई घरबाट विस्थापित बनेका छन् । 

पश्चिम अफ्रिकामा अवस्थित यो मुलुकमा जिहादी समूहले थालेको आक्रमणपछि प्रायः ग्रामिण ईलाकामा सरकारी सुरक्षाकर्मीको न्यून उपस्थिति रहने गरेको छ । 

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको भूपरिवेष्टित यस अफ्रिकी मुलुक जिहादी समूह र सेनाबीचको द्वन्द्वका कारण अशान्त रहने गरेको छ ।  

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ५० बजे