सिद्धार्थनगर नगरपालिकाका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा

भैरहवा । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्कनुभएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४ मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन ।

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेसका उम्मेदवार बालकृष्ण खाँण र लोसपाका सन्तोष पाण्डेसँगै घरदैलोमा हिँड्नुभएको छ ।

सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयरसहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि ती दुई उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलोमा सहभागी भइरहेका छन् । 

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिएको छ । 

निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने बताउनुभयो ।  

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : १८ बजे