डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

निर्वाचनमा मतदाताले चार मतपत्रमा मत सङ्केत गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चार वटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरेको छ । 

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।

यस्तै आयोगले  प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ । 

आफ्नो परिचय पत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा आफूलाई मन पर्ने उम्मेदवारको निर्वाचन चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘१’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ । यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘२’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।

त्यस्तै, तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा इच्छाएको उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘३’ लेखिएको नजिकैको मतपेटिका मतपत्र खसाल्नुपर्छ । चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर ‘४’ लेखिएको नजिकैको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : ४३ बजे