लक्ष्मीपूजाको दिन विद्युत्को उच्चतम माग १३०५ मेगावाट 

काठमाडौँ । तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्च माग(पिक डिमाण्ड)१३०५ मेगावाट पुगेको छ । 

गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको हो । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६ः१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । 

प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत् गृहबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विना अवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । 

प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । 

यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ५३ बजे