थप ५७ वटा हिमाल आरोहणका लागि खुला

राष्ट्रपतिद्वारा श्वेत भैरव नाचका लागि नवदुर्गा मन्दिरमा पूजा

पाटन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गर्नुभएको छ । 

बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ः०० बजे त्यहाँ पुगी उहाँले  पूजा गर्नुभएको वडाध्यक्ष जगत महर्जनले जानकारी गराउनुभयो । 

परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि यहाँ आउनुभएको  नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताउनुभयो । आज अपराह्न यो नृत्य मञ्चन गरिने छ  ।

श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयवासीले पुनः हेर्न गुठीसँग अनुरोध गरेमा  सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको स्थानीयवासी चक्र महर्जनले बताउनुभयो । 

साउन १० गते घण्टाकर्ण चतुर्दशी (गठेमङ्गल)देखि सुरु भएको जात्रामा दसैँको फूलपातीका दिन सुनाकोठीको वालकुमारी मन्दिर परिसरमा कुल्पी यज्ञ आयोजना गरिएको थियो । 

उक्त यज्ञका लागि दक्षिण ललितपुरको तीनपाने भञ्ज्याङको जङ्गलबाट स्वसी आगँसी (बाँझको दाउरा)ल्याइएको थियो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट ठेचोस्थित दूरीखेलमा देशभोज आयोजना गरिएको थियो । 

जात्रा आगामी फागुन–चैत्रमा साइत हेरेर सम्पन्न गरिने गुठीले जनाएको छ । जात्राका लागि गोदावरी नगरपालिकाले रु ५० लाख उपलब्ध गराएको नवदुर्गा गुठीका सदस्य मालीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ४७ बजे