थप ५७ वटा हिमाल आरोहणका लागि खुला

निर्वाचनलाई निष्पक्ष बनाउन पत्रकारको महत्त्वपूर्ण : विनोद ढकाल

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले निर्वाचन निष्पक्ष बनाउन पत्रकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । 

आइतबार विराटनगरमा प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ढकालले संविधान र लोकतन्त्र संस्थागत गर्न निष्पक्ष निर्वाचन हुनुपर्ने र त्यसको लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको हो । 

उहाँले हिन्दुहरूको महान् पर्व तिहारसँगै ५ वर्षमा आउने राजनीतिको महान् पर्व चुनाव नजिकिएकाले निष्पक्ष रूपमा निर्वाचनमा लाग्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । 

पत्रकारहरूले लेख्ने तटस्थ समाचार र विचारले नै जनताले सही नेतृत्व चयन गर्न सक्ने भन्दै उहाँले पत्रकारहरूलाई तथ्यमा आधारित भएर समाचार लेख्न आग्रह गर्नुभयो । उहाँले चुनावमा हुने गतिविधि र आचारसंहिताको पालना पनि निर्वाचनको मूल खम्बा भएकाले त्यसतर्फ ध्यान दिन उहाँको आग्रह थियो । 

मोरङ क्षेत्र नं ४ (१) बाट प्रदेशसभा सदस्यका लागि एमालेका उम्मेदवार जयप्रकाश चौधरीले निर्वाचनको समयमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले जनताको सुसूचित हुन पाउने अधिकारका लागि पत्रकारले तटस्थ भएर समाचार बनाउनु पर्ने बताउनुभयो । 

एमालेका प्रदेश कमिटी सदस्य तथा प्याव्सनका पूर्व अध्यक्ष टीकाराम पुरीले समाचार हेर्दा कुन पार्टीमा आस्था राख्ने पत्रकारले समाचार लेखेको हो थाहा नहुने गरी समाचार लेख्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा पत्रकारहरू आफ्नो आस्था राख्ने दलको पक्षमा समाचार लेख्ने गरेको भन्दै दलको गन्ध नआउने गरी समाचार लेख्नका लागि पत्रकारहरूलाई शुभकामना दिनुभयो । 

कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश नं. १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, समाजवादी प्रेस सङ्गठनका प्रदेश संयोजक तथा मुख्यमन्त्री राजेन्द्र राईका प्रेस सल्लाहकार बन्धु पोखरेल, प्रेस सेन्टरका मोरङ अध्यक्ष अर्जुन आचार्य, निजामती कर्मचारी सङ्गठन मोरङका अध्यक्ष ओम सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ३९ बजे