नेपालीहरूको दसैँपछिको दोस्रो ठुलो चाड तिहार भनिने यमपञ्चकमा सुरु भएको छ । नेपाली जनजिब्रोले तिहार भन्ने गरेको यो अवधि जम्मा पाँच दिन हुन्छ । यी पाँच दिनको हरेक दिन तिहार हुन्छ । पहिलो काग तिहार हो । हाम्रो घर आँगन छेउछाउमा रहेका फोहर खाएर सफा पार्ने, कुनै प्राकृतिक अनिष्टबारे घटना घट्नुअघि थाहा पाउने र सङ्केत गर्ने, सूचकको रूपमा मान्ने गरिएको कागका अन्य अनेकौँ गुणहरू रहेको भनिन्छ । कागलाई यमको दूत अर्थात् यमदूत मान्ने मान्यता रहिआएको पाइन्छ । ‘काकोद्रसि यमदूतोद्रसि’आदि भनेर कागको पूजा गरिन्छ र बलिभाग दिइन्छ, जसलाई काकबलि पनि भनिन्छ । नीतिशास्त्रमा कागबाट पाँच कुरा सिक्नू ‘वायसात्पञ्च शिक्षेत्’ भनिएको छ । ती पाँच कुरा मानव सभ्यताका लागि महत्त्वपूर्ण विषय छन् : चनाखो रहनू, लुकेर मैथुन गर्नू, अतिरिक्त सञ्चय नगर्नू, सितिमिति कसैको भर विश्वास नपर्नू, सफा सुग्घर रहनू । यी सबै कुरासँगै नेपाली समाजमा कागलाई सन्देशवाहक—सूचकका रूपमा मान्ने गरिएको पाइन्छ । यसबाट तिहारको एउटा विषय सूचना तथा सञ्चारको महत्त्वसँग सम्बन्धित रहेको देखिन्छ ।
यसै दिन आयुर्वेदका जनक — आविष्कर्ता महर्षि धन्वन्तरिको जयन्ती पनि मानिन्छ । हिजोआज आयुर्वेदको महत्त्वलाई अन्य पछि विकास गरिएका चिकित्सा पद्धतिले पछि पार्न खोजेको देखिन्छ । यसलाई कतिपय मानिसहरूले घाँसपात, जडीबुटीको सामान्य उपयोगको विषयका रूपमा मात्र बुझ्ने गर्दछन् र आफ्नो यो अल्प ज्ञानलाई नै सबै थोक भनेर बुझ्नेहरू पनि छन् । सामान्यतः आयुर्वेदले रोगको आधारभूत कारण कफ, वात र पित्तलाई मान्दछ भने यसका
१. शल्य तन्त्र,
२. शालाक्यतन्त्र,
३. कायचिकित्सा,
४. भूतविद्या,
५. कौमारभृत्य,
६. अगदतन्त्र,
७. रसायनतन्त्र,
८. वाजीकरण यी आठ अङ्ग हुन्छन् । आयुर्वेदको क्षेत्र बृहत् छ । यसबाट तिहारको अवसर आयुआरोग्य(स्वास्थ्य) दृष्टिले पनि महत्त्वपूर्ण हुन पुगेको छ ।
दोस्रो दिन नर्क चतुर्दशी हो । यस दिन कुकुर तिहार मनाइन्छ । कुकुरका विशेषताबारे धेरै भनिरहन आवश्यक छैन । कुकुर मानिसहरूको नजिकको रक्षक हो, इमानदार हुन्छ । नीतिशास्त्रमा कुकुरबाट छ वटा शिक्षा लिनू अर्थात् ‘षट्शून’ आदि भनिएको छ । यस अर्थमा प्रकृतिबाट सिक्दै सभ्यता र संस्कृति विकास गर्दै आएको मानव समाजले कुकुरबाट पनि सिकेको छ । कुकुरको पूजा गरेपछि यसलाई विभिन्न परिकारहरू खान दिइन्छ । यसरी दिइने बलिभागलाई श्वानबलि पनि भनिन्छ । यी सन्दर्भमा कुकुरका विशेषताहरूको स्मरण गर्दै सम्मान गरिन्छ । इमानदार, चनाखो, थोरै सुत्ने, निष्ठावान् आदिको महत्त्वका लागि तिहारको यो दिन महत्त्वपूर्ण रहेको देखिन्छ ।
औँसीको दिन गाई तिहार मान्ने प्रचलन छ । यसको रात्रिलाई सुखरात्रि भनिन्छ । यस दिन धन—धान्य, समृद्धिका लागि श्रीमहालक्ष्मीको पूजा गर्ने प्रचलन छ । लक्ष्मीको पूजा गर्नुका पछाडि धन कमाउने, खर्च गर्ने, त्यसबाट आनन्दित हुने, अपव्यय नगर्ने आदि स्मरण गर्ने सन्दर्भ हो । यसको सन्ध्या कालमा व्यापक दीप प्रज्वलन गरिन्छ, लस्करै दियो बालिन्छ । प्रकृतिमा अँध्यारो र उज्यालो पक्ष दुवै छ, तर मानिसको प्रयासले उज्यालो पार्न सकिन्छ । मानिस अँध्यारोबाट उज्यालोतिर लम्कनु पर्दछ अर्थात् ‘तमसो मा ज्योतिर्गमय’को प्रेरणा दिन्छ । यस दिनले गाईको महत्त्व दर्साउनुका साथै मानिसका कर्मबाट समृद्धि र उज्यालो जीवनको सन्देश दिन्छ । यसै पनि गो शब्दको अर्थ गाई त हुन्छ, तर यसले इन्द्रिय, पृथ्वी भन्ने अर्थ पनि राख्दछ । ‘गो पूजा’ले कृषिका लागि गो वंशको उयादेयता, इन्द्रिय संयम, पृथ्वीप्रतिको दायित्व तथा यी सँगै प्राप्त हुने सुख, समृद्धि र वैभव आदि विषयको महत्त्व दर्साउँछ ।
तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । यसको विशिष्ट अर्थ र महत्त्व छ । अनुयायीको बलमा श्रीकृष्णले इन्द्रलाई चुनौती दिँदै उठाएको गोवर्द्धन पर्वतको पूजाको ठुलो राजनीतिक अन्तर्वस्तु रहेको छ । यसै दिन गोरु तिहार मनाइन्छ—गोरूको योगदानको उच्च सम्मान गरिन्छ । गोरु मूलतः हलो जोत्ने विषयसँग जोडिएको हुन्छ । हलो जोत्नेलाई हलि भनिन्छ । यो दिन हलि सम्मानको दिन पनि हो । यसै दिन अन्यत्र नभएको नेपालमा मात्र हुने विशेष पर्व छ र त्यो हो— म्ह पूजा । यो आत्मसम्मान, आफ्नो हेरविचारका दृष्टिले अत्यन्त महत्त्वपूर्ण विषय रहेको छ ।
तिहार वा यमपञ्चकको पाँचौँ दिन भाइ तिहार हुन्छ । वास्तवमा भाइ तिहार भनेको दाजुभाइलाई दिदीबहिनीले सम्मानजनक प्रेम र आपसी सुरक्षा तथा सहयोगको प्रतिबद्धताको विषय हो । तिथिका हिसाबले यो दिन द्वितीय पर्दछ । संस्कृतमा यसलाई भातृ द्वितीया, हाम्रो तराई मधेसतिर भाइदूज—भैयादूज भन्ने गरिन्छ । खासमा संस्कृतको भातृ शब्दले दाजु र भाइ दुवै जनाउँदछ ।
यसरी यी पाँच दिन शास्त्रीय हिसाबले यमपञ्चक र चलनचल्तीमा तिहार भनिन्छ । यत्रो मौलिका—विशेषता बोक्ने पाँच दिनको पर्वलाई सुख रात्रिका दिन गरिने दीपावली अर्थात् लहरै बत्ती बाल्ने पर्वका रूपमा मात्र सीमित पारेर कसै कसैले दीपावली र हुँदा हुँदा दिवाली मात्र भनेर शुभकामना दिँदै गरेको पनि देखिन्छ ।
हुन त यो पर्व हिन्दु सनातनीहरूले मनाउँदै आएको पर्व हो । तर, सबै ठाउँका हिन्दुहरूले तिहारलाई यसरी मनाउँदैनन् । त्यसैले यसलाई हिन्दुहरूको मात्र भनेर पुग्दैन, नेपालीहरूको मौलिक पर्व भन्नुपर्ने हुन्छ ।
यसलाई यमपञ्चक भन्नुको पछाडिको कारण के हो त ? शास्त्रअनुसार यम भनेको मृत्युका देवता हुन् । यिनलाई सूर्यका छोरा भनिएको छ । सूर्यकी छोरी हुन्— यमी । यम दाजु र यमी बहिनी हुन् । यी दुवै वैदिक कालका देवता हुन् । ऋग्वेदमा यिनका विषयमा चर्चा छ । ऋग्वेदमा भएको चर्चा अनुसार वैदिक कालको पनि कुनै कालखण्डमा या कुनै काल खण्डसम्म एउटै परिवारमा विवाह हुन्थ्यो । विवाहको उमेर भएका यम र यमी कुनै समय यसरी भेटघाट भई पाँच दिनसम्म सँगै बसे अर्थात् बहिनी यमीको घरमा दाजु यम आएर बसे । यो बसाइबाट एउटा नयाँ सामाजिक सभ्यता बसाए । उनीहरू बिचको व्यापक छलफलबाट विकास गरिएको निष्कर्ष थियो— दाजु बहिनी विवाह नहुने । यस अर्थमा तिहार पर्व मानव जातिको एउटा फरक मान्यता र परम्पराबाट अर्को सामाजिक मान्यता स्थापित गर्ने महत्त्वपूर्ण पर्व हो । संयोग नै हुन सक्दछ, उनीहरू बिचको त्यो बसाइको तिथि यिनै परेको होस् । त्यही स्मरणका लागि तिनै दिनलाई यसरी मनाइँदै आएको हुन सक्दछ । दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धमा परिष्कार गरिएको यो तिहार पर्व वास्तवमै महत्त्वपूर्ण छ ।
यमीको घरमा यम बसेको पाँच दिन (यमपञ्चक) संसारका सबै हिन्दुहरूले मान्दछन् । यो यमपञ्चकलाई हामी नेपालीहरूले तिहार भनेर मान्दै—मनाउँदै आएका छौँ । कुनै पनि विषयलाई फरक—फरक ठाउँमा फरक—फरक अर्थ्याउन सकिन्छ । फरक ढङ्गले विश्लेषण गरी संश्लेषण गर्न सकिन्छ । ‘खोला तर्ने’ विषय सबै ठाउँमा उस्तै हुँदैन, कहीँ पुल होला, कहीँ जङ्घार तर्नुपर्ने होला, कहीँ डुङ्गामा बसेर तरिने होला, कहीँ पौडेर तर्नुपर्ने होला । हिन्दु धर्मशास्त्रमा वर्णित यमपञ्चकका दिन र देवता उही होलान्, तर यी दिनमा गरिने क्रियाकलाप, तौरतरिका फरक हुन सक्दछ भन्ने बुझ्नुपर्दछ ।
संस्कृतिका आधारभूत देखिने पक्ष भनेको खानपान, पहिरन, चालचलन—दैनिन्दिन व्यवहार हो । यसमा पूजा पद्धति, चाडपर्व, रीतिरिवाज, परम्पराको पक्ष त हुन्छ नै । प्रकृति, उत्पादन पद्धति र यसमा प्रयोग गरिने औजार—उपकरण पनि संस्कृतिकै विषय हुन् । समष्टिमा भन्नुपर्दा संस्कृति भनेको सुधारिएको परम्परा र समाजले स्वीकार गर्ने गरी परिमार्जित मानव व्यवहार हो । उस्तै रहे परम्परा हुन्छ, नबुझी अवलम्बन गरे अन्धविश्वास हुन्छ । सकारात्मक रूपमा परिवर्तित—परिमार्जित भए संस्कृति हुन्छ, बुझेर अवलम्बन गरे विज्ञान हुन्छ । संस्कृति वृहत् र व्यापक विषय हो । संस्कृतिको सारभूत अर्थ सुधारिएको, परिमार्जन गरिएको, राम्रो परिणति—परिणाम हो ।
पछिल्लो समय तिहारका ठाउँमा दीपावली लेख्ने प्रचलन बढेको देखिन्छ । दीपावली भन्ने नराम्रो होइन । दीपावली भनेको लस्कर बत्ती वा बत्तीको ताँती भनेको हो । तिहार(यमपञ्चक)को एक दिन औँसीको रात्रि—सुख रात्रिमा धनधान्यकी देवी लक्ष्मीको स्वागतका लागि दीपावली(लहरै बत्ती बाल्ने) गर्ने गरिन्छ । औँसीको रात्रिमा प्राकृतिक अन्धकारलाई चिर्ने मानवीय प्रयासको यो कर्म महत्त्व छ । तर, यो दिन यमपञ्चकको एक दिन मात्र हो र यसरी लहरै बत्ती बाल्नु एउटा कर्म—काम हो, यही एउटा कर्मको नाम नै सिङ्गो पर्व हुन सक्दैन । त्यसैले दीपावली शब्दले यमपञ्चकको पाँच दिन जनाउँदैन, तिहारको न भाव, न अर्थ, न व्यवहार नै बोक्न सक्दछ । अतः दीपावली होइन, यमपञ्चक वा तिहार भन्नुपर्छ ।
यम र यमीको विषय नउठी यमपञ्चक हुँदैन । यम र यमीको सन्दर्भविना यो पर्व दिदी—बहिनी र दाजुभाइको पर्व हुँदैन । अनि, कसरी दीपावलीले तिहारको भाव र अर्थ बोक्न सक्छ त ? यम र यमी बुझ्न किन आवश्यक छ त ? किन भने—
त्वाष्ट्री संज्ञां मनुं पुत्रं यमलौ यमुनां यमम् । छाया संज्ञां च सावर्णिं मनुं वैवस्वतं सुतम् ।शनिं च तपतीं विष्टिं संज्ञायां चाश्विनौ पुनः । अर्थात् संज्ञा (सूर्यकी पत्नी) विश्वकर्माकी छोरी हुन् । उनको गर्भबाट मनु एवं यम र यमुना नामका जुम्ल्याहा सन्तान जन्मिए । छायासंज्ञाबाट सावर्णि मनु र शनैश्चर नामका छोराहरू र तपती एवं विष्टि नामका छोरीहरू जन्मिए । (अग्निपुराण, २७३ ओैँ अध्याय) यस्तो उल्लेख पाइन्छ । यसबाट यम र यमी को थिए भन्ने स्पष्ट हुन्छ । यस प्रसङ्गबाट मनु, यम, यमी, विश्वकर्माको सम्बन्ध पनि स्पष्ट हुन्छ । यसरी स्पष्ट हुनु भनेको हाम्रो समाजमा तथाकथित दलित—शूद्र बनाइएका विश्वकर्मा को हुन् र नेपाली समाजमा रहेको छुवाछूतको निरर्थकताबारे स्पष्ट हुन सकिन्छ । यस हिसाबले पनि हामीले यम र यमीसँग जोडेर यो पर्व मनाउनु औचित्यपूर्ण हुन्छ ।
हिन्दु सनातन संस्कृतिको आधार ग्रन्थ वेद हो । वेदमा पनि ऋग्वेद सर्वप्राचीन ग्रन्थ मानिन्छ । यो ग्रन्थ उनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत ग्रन्थ हो । यस अर्थमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्व मानव जातिको साझा सम्पत्ति हो ।
यसरी तिहारको अन्तर्वस्तु बहुआयामिक रहेको देखिन्छ । दीपावली मात्र भनियो भने माथि चर्चा गरिएका महत्त्वपूर्ण पक्ष ओझेल पर्ने छन् । हामी यसलाई यमपञ्चक वा तिहार नै भनौँ ।
प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार ९ : २४ बजे
प्रतिक्रिया