‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्वच्छता, सुस्वास्थ्य, समृद्धि र सुखका लागि तिहारको शुभकामना !!

नेपालीहरूको दोस्रो ठुलो चाडका रूपमा मनाइने तिहार पर्व सुरु भएको छ । यो तिहार पर्व वैदिक कालदेखि चल्दै आएको प्राचीन पर्व हो । यो पर्व ठाउँअनुसार र विभिन्न नाममा मनाउने प्रचलन रहिआएको देखिन्छ, तर यो पर्व मूलतः कृषि परिवेशमा हुर्कँदै आएको देखिन्छ । मानवसँग साह्रै नजिक रहेका उपयोगी काग, कुकुर, गाई, गोरूको समेत सम्मान र पूजा गरी मनाइने गरेको यो तिहार पर्व साह्रै रमाइलो तथा उमङ्ग सिर्जना गर्ने पर्व हो । 

तिहार पर्वका र यसलाई उत्सवमय ढङ्गले मनाउनुका पछाडि अनेकौँ अमूर्त कारणहरू छन् । सांस्कृतिक पर्वहरू अधिकांशतः प्रकृति र मानव चेतनाको विकास तथा प्रयोगसँग जोडिएका हुन्छन् भने केही अमूर्त मान्यताको निरन्तरता पनि हुने गर्दछ । तिहार पर्वमा धर्म, अध्यात्म, परम्पराका विषयसँगै खोज, उत्पादन, वितरण र सम्बन्धहरू एवं नयाँ मान्यता विकाससँग सम्बन्ध रहेको बहुआयामिक पर्वको रूपमा देखिन्छ । 

धेरै बत्ती बालेर दीपावली गर्नु, हलि पूजा, गोवर्द्धन पूजा, देउसी—भैलो खेल्नु आदिका अन्तर्वस्तुमा गहिरिने हो भने तिहार पर्व आफैमा मानव समाज विकासको समग्रता वहन गरेको पर्व हो भन्ने देखिन्छ । हामीले यस्ता पारम्परिक पर्वहरू मनाउने त गर्दछौँ या वाहियात भनेर तिरस्कार गर्ने वा बिर्सन खोज्ने गर्दछौँ तर यसका अन्तर्वस्तु र यसले दिन खोजेको सन्देशतिर गहिरिने, अझ समसामयिक बनाउने, सम न्यायिक बनाउनेतर्फ भने ध्यान दिइरहेका हुँदैनौँ ।  

तिहारले मानव समाजमा विवाह तथा पारिवारिक सम्बन्धमा नयाँ मानक स्थापना गरेको छ । हामीले सगर्व अवलम्बन गर्दै आएको विवाह सम्बन्धमा वैदिक कालका पुर्खाहरूले विकास गरेको सभ्यताको ससम्मान स्मरण गर्न पनि तिहारको भूमिका छ । परिवारको गठन, पितृत्वको ठेगान, नयाँ ढङ्गको परिष्कृत र स्पष्ट वैवाहिक सम्बन्ध, दाजुभाइ र दिदीबहिनी बिचको सम्मान तथा संरक्षणको जिम्मेवारी जस्ता विषय तिहारका गूढ अन्तर्वस्तु हुन् । 

तिहार पर्वले सूचना तथा सञ्चारको क्षेत्र, वातावरणीय स्वच्छता तथा सरसफाइको विषय, उत्पादनका साधनहरूको महत्त्व, मानिसले आफ्नै क्षमताका बलमा अन्धकारलाई चिरेर उज्यालो वर्तमान र भविष्य बनाउन सक्छ भन्ने सन्देश, असल र सफल नेतृत्वले जस्तोसुकै चुनौतीबाट जनधनको सुरक्षा गर्न सक्छ भन्ने दृष्टान्त तिहारका पूजाआजाबाट अभिव्यक्त हुन्छ । 

लामो समयदेखि चलिआएको हुनाले यसमा केही उपयोगी विषय थपिए होलान्, केहीले निरन्तरता पाउन नसकेका होलान्, केही नयाँ मिथक जोडिए होलान् अथवा यसरी बुझौँ ‘केही जोडिए, केही छोडिए’ होलान्, तर यसका सकारात्मक सन्देशहरू समाजका लागि महत्त्वपूर्ण छन् । 

यसमा मानिसहरू साह्रै खुसी भएर पटाकाहरू पड्काउने, तासजुवा खेल्ने, अपव्यय गर्ने आदि प्रचलन तिहारका अनिवार्य अन्तर्वस्तु होइनन् । यी र यस्ता अन्य विसङ्गतिहरूप्रति सचेत रहँदै स्वच्छ, स्वस्थ, सचेत, सङ्गतिपूर्ण तरिकाले तिहार मनाऔँ । तिहारको सन्देश तमसो  मा ज्योतिर्गमय अर्थात् अन्धकार होइन, उज्यालोतर्फ जाऔँ भन्ने हो । सर्वे सन्तु निरामय अर्थात् सबै निरोगी हुन् भन्ने हो । यो पर्व समाजलाई समृद्धि र जीवनलाई सुखसँग जोड्ने पर्व हो । 

यसभित्र पूजै पूजा देखिन्छ, तिहारै तिहार देखिन्छ । काग पूजा—काग तिहार, कुकुर पूजा—कुकुर तिहार; गोरु, हलि पूजा—गोरु तिहार, हलि तिहार र भाइ पूजा—भाइ तिहार (दाजुभाइ—दिदीबहिनी सम्मान) । यसमा म्ह पूजा, आयुर्वेदका जनक धन्वन्तरि जयन्ती आदि थप सन्दर्भ पनि छन् । यी सबैका अन्तर्वस्तु बुझ्दै तिहार मनाऔँ । भेदभाव, अन्धकार र विपन्नता अन्त्य गर्न चाडपर्वको सन्देश आत्मसात गरौँ । सबैलाई उज्यालो र पवित्र पर्व तिहारको शुभकामना !

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ४६ बजे