यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

किन डरायो काश्मीरी फोटो पत्रकार सनासँग भारत?

काश्मीरी फोटो पत्रकार सना इरशाद मट्टुले वैध भिसा र टिकट भए पनि दिल्ली एयरपोर्टमा न्यूयोर्क जानबाट रोकिएको वताउनु भएको छ।

सना, भारतमा कोभिड-१९ महामारीको कभरेजको लागि ‘फिचर फोटोग्राफी’ को श्रेणीमा पुलित्जर पुरस्कार प्रदान गरिएको समाचार एजेन्सी रोयटर्सको टोलीको सदस्य हुनुहुन्छ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले पुलित्जर पुरस्कार विजेता काश्मीरी पत्रकार सना इरशाद मट्टुलाई विदेशको यात्रा गर्नबाट रोकिएको भन्ने रिपोर्टहरूका बारेमा अमेरिका चासो दिएर हेरिरहेको बताएका छन्। यसैबीच विश्वभर प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्ने संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सीपीजे)ले पनि यस कदमको निन्दा गरेको छ।

सनाले अक्टोबर १८ आफूलाई पुलित्जरजस्तो प्रतिष्ठित पुरस्कार लिन नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलमा अमेरिका जानबाट रोकिएको वताउनु भएको थियो। मट्टुलाई भारत छाड्नबाट रोकिएको यो दोस्रो पटक हो।

यसअघि सनालाई जुलाईमा फ्रान्स जानबाट रोक लगाइएको थियो। त्यतिबेला उहाँले आफू फ्रान्सको राजधानी पेरिसमा एउटा कार्यक्रममा सहभागी हुन जान लाग्दा दिल्ली एयरपोर्टका अधिकारीहरूले अध्यागमनमा रोकेको वताउनु भएको थियो।

सनाले आफूलाई देश छाड्न नदिने कारण नदिएको बताउनु भएको थियो। अधिकारीहरूले  आफू अन्तर्राष्ट्रिय यात्रा गर्न नसक्ने बताएको सनाले जानकारी दिनुभएको छ।

तर, हालैको घटनाका सम्बन्धमा भारतको परराष्ट्र मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले आफ्नो दैनिक पत्रकार सम्मेलनमा भन्नुभएको छ, ‘मट्टुलाई अमेरिका जानबाट रोकिएको खबरबाट हामी सचेत छौं र हामी यी घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं।”

“हामी प्रेस स्वतन्त्रतालाई समर्थन गर्न प्रतिबद्ध छौं र विदेश सचिवले भनेझैं प्रेस स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्यहरूको साझा प्रतिबद्धता अमेरिका-भारत सम्बन्धको आधारशिला हो,” वेदान्त पटेलले भन्नुभयो।

एक विज्ञप्तिमा, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले भारतीय अधिकारीहरूलाई सनालाई पुलित्जर पुरस्कार समारोहमा भाग लिन अमेरिका जान अनुमति दिन आग्रह गरेको छ। जर्मनीको फ्रान्कफर्टमा सीपीजेको एशिया कार्यक्रम संयोजक, बेह लिह यीले भन्नुभयो, ” यात्राका लागि आवश्यक सबै सही कागजातहरू साथमा हुँदाहुँदै पुलित्जर (सबैभन्दा प्रतिष्ठित पत्रकारिता पुरस्कारहरू मध्ये एक) विजेता काश्मीरी पत्रकार सना एरशाद मट्टुलाई विदेश भ्रमणमा रोक लगाउनु पर्ने कुनै कारण छैन।”

बेह लिह यीले भन्नुभयो, ‘यो मनमानी निर्णय हो। कश्मीरको अवस्थाका बारेमा समाचार बनाउने पत्रकारहरू विरुद्ध भारतीय अधिकारीहरूले गर्ने सबै प्रकारका उत्पीडन र धम्कीहरू तुरुन्तै बन्द गर्नुपर्छ।

भारत सरकारले जम्मू र कश्मीरको विशेष स्वायत्तता स्थिति खारेज गरेको मिति अगस्ट 2019 देखि नै काश्मीरी पत्रकारहरूलाई विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको उनीहरूले सीपीजे लाई बताएको प्रेस विज्ञप्तिमा  उल्लेख गरिएको छ।

सन् २०२२ मा रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा प्रकाशित प्रेस स्वतन्त्रता सूचकांकमा भारत १८० देशहरूमध्ये १५० औँ स्थानमा छ। यो सूचकांकमा भारतको अहिलेसम्मकै सबैभन्दा तल्लो स्थानमा पुगेको हो।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : ४३ बजे