सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : अध्यक्ष ओली 

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  शिक्षा क्षेत्रको विकासका लागि नेकपा(एमाले) गम्भीर रहेको र पार्टीको निर्वाचन घोषणापत्रमा  शिक्षा क्षेत्रको विकासका केही ‘ग्लिम्प्स’ (झलक) आउने बताउनुभएको छ ।

शिक्षाविद् तथा शिक्षा क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, शिक्षानुरागीहरूसँग शुक्रवार साँझ भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई शिक्षाको हब बनाउन सकिने बताउनुभएको हो । 

उहाँले देशको विकासका लागि हामीलाई कस्तो जनशक्ति कति आवश्यक पर्छ भन्ने प्रोफाइल तयार गरी योजनाबद्ध रूपमा शिक्षाको विकासमा लाग्नुपर्छ भन्ने धारणा आफ्नो रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले आफ्नो सोच शिक्षा क्षेत्रमा बालबालिकाको रुचि, क्षमता पत्ता लगाई त्यस अनुसार गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्छ भन्ने रहेको र त्यसका लागि ‘चिल्ड्रेन प्यालेस’ खोल्ने र त्यहाँ  बालबालिकालाई विभिन्न सुविधा उपलब्ध गराउने, उत्कृष्टतम शिक्षकहरू राखेर बालबालिकाको क्षमता र रुचि छुट्याउने योजना रहेको बताउनुभयो । 

उहाँले शिक्षा क्षेत्रको विकासमा राज्यले आफ्नो उत्तरदायित्व बहन गर्नुपर्ने बताउँदै स्वदेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदा हाम्रा बालबालिका अध्ययनका नाममा अमेरिका, क्यानडा जाने वर्तमान अवस्थाको अन्त्य हुने छ भन्नुभयो ।

देशमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नु सबैको साझा कर्तव्य भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको र त्यसमा सुधार आवश्यक रहेको छ ।”

उहाँले गुणस्तरीय शिक्षाका नाममा शिक्षा नियोजित गर्ने काम भएको र प्राविधिक शिक्षा सञ्चालन गर्नै नदिने प्रवृत्ति देखिएको बताउनुभयो । नेपालमा शिक्षा क्षेत्रको विकास योजना बनाएर गर्नुपर्नेमा त्यसो नगरी शिक्षाको बन्ध्याकरण गरिएको उहाँको भनाई थियो ।

आफ्नो प्रयास नेपाललाई स्वास्थ्य शिक्षा, आयुर्वेद, योग, इन्जिनियरिङ शिक्षाको हब बनाउन सकिन्छ भन्ने रहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो । उहाँले शासकीय अयोग्यता, स्वार्थ र सङ्कीर्णताका कारण मुलुक शिक्षामा अलिकति पछाडि परेको बताउनुभयो । 

उहाँले त्रिभुवन विश्वविद्यालय छ महिनादेखि तालाबन्दी अवस्थामा रहेको, ताला लगाउने, शिक्षकलाई मरणासन्न हुने गरी कुट्नेलाई राज्यको संरक्षण रहने र ताला खोल्नेलाई प्रहरी प्रशासनले लखेट्ने वर्तमान यथार्थ प्रस्तुत गर्दै यो राष्ट्रिय समस्याको अन्त्य गरी शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुपर्ने बताउनुभयो ।

धन्वन्तरी, आर्यभट्ट, कौटिल्य (चाणक्य), चरकका शैक्षिक अन्वेषणको चर्चा गर्दै अध्यक्ष ओलीले शिक्षा र ज्ञानको प्रादुर्भाव भएको भूमि नेपालमा हाम्रा बालबालिकाले शिक्षाको अवसर पाउने बित्तिकै दुनियाँका कसैले पनि प्रतिस्पर्धा गर्न नसक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नुभयो । 

हाम्रो परम्परागत शिक्षामा सीप सिकाउने कुरामा कमी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले आउँदो पुस्तालाई ज्ञान, सीप र गुणको हिसाबले अत्यन्त उन्नत बनाउनुपर्ने धारणा राख्नुभयो । 

शिक्षा क्षेत्रसँग केपी ओली नाम दिइएको शिक्षा संवाद कार्यक्रममा शिक्षाविद्, प्याप्सन, एनप्याप्सन, हिसान लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरूले आ– आफ्ना जिज्ञासा, सुझाव र धारणा राख्नुभएको थियो । 

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ४६ बजे