बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, कारबाही गरे भूकम्प आउने हो कि ? : आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको बताउनुभएकाे छ ।  

प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज प्रदेश नं. १ विराटनगरमा उद्घाटन गर्दै उहाँले स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई यसको प्रारम्भ भएको समेत स्पष्ट पार्नुभयाे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरिएको बताउनुभयाे । 

‘स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ?,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयाे, ‘निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ, जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो ।’

व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनका लागि आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी दुुईवटा नारा अगाडि सारेको उहाँले जनाउनुभयाे । पहिलो– निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ र दोस्रो– निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ भन्ने रहेको उहाँले स्पष्ट पार्नुभयाे ।

नेपालको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीतिगत व्यवस्था गर्ने आयोग नै पहिलो सार्वजनिक निकाय हो भन्न पाउँदा गर्वको अनुुभूति भएको उहाँले बताउनुभयाे । 

‘आयोग चाहन्छ, निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपुर उपयोग गरी सुसूचित निर्णय लिन सकून्, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास अझै मजबुद होस्,’ उहाँले भन्नुभयाे । 

सामाजिक सञ्जालको उपयोगद्वारा निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित सूचना वा जानकारी सम्प्रेषण तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरबाट हुन सक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमनद्वारा निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन आयोगले आवश्यक तयारी गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयाे। 

अर्काे सन्दर्भमा उनले मतदाता नामावलीमा नाम भएको बालिग मतदाताले मतदाता परिचयपत्र नभएको कारणले मतदानबाट वञ्चित हुन नपर्ने उहाँले जनाउनुभयाे । 

सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले संवाहको भूमिकामा रहेर निर्वाचनको निगरानी गरिदिन आग्रह गर्दै प्रमुख आयुक्त थपलियाले सबै उम्मेदवारलाई सञ्चारमाध्यममा समान अवसर र पहुँच उपलब्ध हुनुपर्नेमा जोड दिनुभएकाे थियाे । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : २७ बजे