सुनको मूल्यमा नयाँ कीर्तिमान

शेख रसेल कप चेसको उपाधि बङ्गलादेशलाई, नेपाल तेस्रो स्थानमा

काठमाडौँ । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ । 

बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बङ्गलादेश च्याम्पियन बनेको हो । 

समान तीन/तीन म्याच प्वाइन्ट बनाएको श्रीलङ्कालाई गेम प्वाइन्टमा पछि पारेको बङ्गलादेशले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहन सफल श्रीलङ्काले ३ हजार अमेरिकी डलर पाउँदा तेस्रो भएको नेपालले २ हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बङ्गलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि सुरु भएको च्याम्पियनसिपमा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो । 

राउण्ड रोविन प्रणालीबाट अङ्क तालिकाको शीर्ष स्थानमा रहन सफल ३ टोली सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुवै खेलमा पराजय व्यहोर्न पुग्यो । च्याम्पियनसिपको अन्तिम खेलमा बङ्गलादेशले नेपालविरुद्ध ३ ग्रान्डमास्टर र १ ईन्टरनेशनल मास्टरलाई प्रतिस्पर्धा गराएको थियो । 

पहिलो बोर्डमा ग्रान्डमास्टर ईनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । दोस्रो बोर्डमा बिलमलाल श्रेष्ठलाई अर्का ग्रान्डमास्टर जिउर रहमानले पराजित गरे । 

तेस्रो बोर्डमा खेलेका सिंगेश्वर दासलाई ग्रान्डमास्टर नियाज मुर्सीदले हार चखाए भने चौथो बोर्डमा प्रतिस्पर्धा गरेका राजेन्द्र बज्राचार्य बङ्गलादेशी ईन्टरनेशनल मास्टर मोहमद फहाद रहमानसँग अङ्क गुमाउन पुगे ।

व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोस्रो बोर्डमा बिलमलाल र तेस्रो बोर्डतर्फ सिंगेश्वर दासले काँस्य पदक प्राप्त गरे । ६ सदस्यीय नेपाली टोली शुक्रवार स्वदेश फर्किने छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ५९ बजे