‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौँ महानगरपालिकाको जमिन कृषि र गैर कृषि गरी दुई किसिमबाट वर्गीकरण हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भू उपयोग कार्यान्वयन उपसमिति गठन गरी  कृषि र गैर कृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ ।     

बुधबार  कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भू उपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले उपसमिति गठन गरेको हो । 

गठित उपसमितिमा वडाध्यक्ष संयोजक रहने र वडा सदस्य सदस्य रहनेछन् । बैठकले उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैर कृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

भू उपयोग ऐन, २०७६ को व्यवस्थाअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् ।

कामपाको यसअघि भएको आठौँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, बिना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यसहित समिति गठन गरिसकेको छ ।  

कार्यक्रममा प्रमुख साहले उपसमितिमार्फत तत्कालका लागि जमिनलाई कृषि र गैर कृषि गरी दुई क्षेत्र छुट्याउन आग्रह गर्नुभयो । 

कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिसबारेमा कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेस भएको अवस्थाका विषयमा स्थानीय भू उपयोग परिषद्मा छलफल गरेर निर्णय हुने बताउनुभयो । 

ऐनमा सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यावसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने प्रबन्ध पनि गरेको छ ।  

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : १७ बजे