सुनको मूल्यमा नयाँ कीर्तिमान

शेख रसेल कप चेसको सुपर लिगमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ । नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको सुपर लिगमा श्रीलङ्कासँग ३–१ ले पराजित भएको छ । 

बङ्गलादेशको राजधानी ढाकामा जारी च्याम्पियनसिप अन्तर्गत बुधवार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे । 

नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिस्पर्धा गरिरहेका दासले श्रीलङ्का विरुद्ध दुवै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन् । आफूभन्दा उच्च वरियताका श्रीलङ्काली खेलाडी कालुआराचि अचिन्था सामेन विरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए ।

नेपालका लागि पहिलो बोर्डमा प्रतिस्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलङ्काली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए । 

दोस्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलङ्काली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलङ्काली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे ।  

मङ्गलवारबाट सुरु भएको सुपर लिगको पहिलो खेलमा बङ्गलादेशलाई २–२ को बराबरीमा रोक्न सफल श्रीलङ्का टोली दुई खेलबाट ३ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । 

त्यसैगरी बङ्गलादेश १ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ भने अङ्कविहीन नेपाल तेस्रो स्थानमा रहेको छ । सुपर लिगको तेस्रो खेलमा आज नेपालले बङ्गलादेशको सामना गर्नेछ ।

नेपाल र बङ्गलादेशको नतिजाले च्याम्पियनसिपको विजेता टुङ्गो लगाउनेछ । नेपाल र बङ्गलादेश बिचको खेल बराबरीमा टुङ्गिए श्रीलङ्का च्याम्पियन हुनेछ । तीन ग्राण्डमास्टर तथा दुई ईन्टरनेशनल मास्टर सम्मिलित आयोजक बङ्गलादेशले यसअघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ०१ बजे