‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शहरको बीचमा रैथानेको रजगज

काठमाडौँ । काठमाडौँको चप्पल कारखाना चोकबाट ५० मिटर भित्र २५ वर्षअघिको गाउँ झल्कने घर छ । बाटोमा हिँड्ने जो कोहीको आँखा सजिलै त्यसघर भित्र पर्छ । कोही ढिकीमा चामल कुटिरहेका, कोही जाँतो घुमाईरहेका त कोही नाङ्लोमा चामल निफनी रहेका । सबै आ–आफ्नो काममा व्यस्त ।

भित्ताभरी ठेकी,नाङ्लो,मकै,डोको र घुमले झकिझकाउ एकतले घर । रैथाने एग्री प्रोडक्ट लेखेको होडिङ बोर्ड । सामान लिन आउने जानेको केही चहल पहल । स्याउको मगमग बास्ना । ढिकीको ढक् ढक् अवाज । यो दृश्यले त्यहाँ जाने जो कोही विगत सम्झन विवश हुन्छ । 

आजसम्म ढिकी,जातो,ओखल र मान्द्रो नदेखेका नयाँ युवा पिढिलाई भने रैथाने एग्री प्रोडक्टभित्रको दृश्य र कृयाकलाप नयाँ र नौलो प्रयोग लाग्न सक्छ । तर,त्यसो होइन । यो त नेपालीहरुको पुरानो रैथाने औजारहरु हुन् । यसैबाट नेपाली पूर्खाहरु आफ्नो दैनिकी गुजार्दथे । 

काठमाडौँको चप्पल कारखानामा  ३ वर्षदेखि रैथाने एग्रो प्रोडक्टले काठमाडौँमै रैथाने बस्तुको उत्पादन,आयात र निर्यात गरिरहेको छ । देशका विभिन्न ४९ जिल्लाबाट रैथाने वस्तुको आयात गरिरहेको रैथाने एग्री प्रोडक्ट नेपाल प्रा.लि.ले रैथाने वस्तुको प्रयोगलाई बढवा दिइरहेको छ ।  

खाद्य सामग्रीमा डोल्पाको ओखर, जुम्लाको स्याउ, संखुवासभाको सखर, सोलुखुम्बुको पहेँलो मकै, रोल्पाको भटमास, दाङको आलु, भोजपुरको अकबरे खुर्सानी इत्यादि उपलब्ध छ। तोरीको तेल, चिउरीको र रूदीलोको मह, गाईको घ्यु, काला नमक चामल, समुद्र फिनी चामल, बेतको सर्बत, क्यामोमाइल टी; गेडागुडीमा मास, सिमी पनि पाइन्छ। बेसार र लसुन यहाँ  उपलब्ध छ। हस्तकलाका सामग्रीमा मकवानपुरका चेपाङ समुदायले बनाएको नाङ्लो; ताप्लेजुङको ठेकी, डोको, घट्ट, डालो, नाङ्लो, चाल्नो, ओखली, ठेकी, कप, गुन्द्री, जाँतो, घुम, चकटी, दुनाटपरी र हाते झोलासम्म यहाँ पाइन्छ।

क्रमिक विकासका नाममा रैथाने सीप,वस्तु र प्रविधि नासिँदै गएकोमा रैथाने एग्रो प्रोडक्ट प्रा.लिका अध्यक्ष तिलक ढकाल चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ मौलिक सीप,प्रविधि मासिए नेपालीहरुको अस्तित्व नासिने बताउनुहुन्छ । ‘हाम्रो मौलिक उत्पादन,सीप,प्रविधि नासिने हो भने हाम्रो अस्तित्व नासिन्छ’,उहाँले भन्नुभयो । रैथाने संरक्षणमा राज्यले केही नगरेको उहाँको गुनासो छ । राज्य र निजि क्षेत्रको समन्वय हुने हो भने रैथाने संरक्षणमा केही हदसम्म काम हुने उहाँको विश्वास छ । 

डब्लुडब्लुएफ अन्तराष्ट्रिय गैरसहकारी संस्थाको काम छोडेर रैथाने संरक्षणमा लाग्नुभएका उहाँ अब रैथाने संरक्षणमै बाँकी जीवन बिताउने बताउनुहुन्छ । ‘जीवनको उत्तरार्धमा छु । बाकीँ जीवन यसमै विताउँछु’,उहाँले भन्नुभयो । अन्तराष्ट्रिय संस्थाको जागिर छोडेर रैथाने संरक्षणमा लाग्नुभएका उहाँ किसानका भोगाई,पीडा,समस्यालाई नजिकबाट नियाल्न पाएको बताउनुुहुन्छ ।‘म ७२ वटै जिल्ला घुमेको छु,मैले किसानका समस्या पीडा,भोगाईहरुलाई नजिकबाट नियालेको छु । रैथाने वस्तुहरुको प्रयोग कम हुन थालेको छ । पश्चिमा सिकोले हाम्रो मौलिकतामाथि ठूलो आघात पुर्याइरहेको छ’,उहाँले भन्नुभयो । 

२०७६ को सुरुवातीतिर रैथाने संरक्षणको हुटहुटीले २५ जिल्लाका ४९ जना शेयर सदस्य मिलेर दुई करोड २५ लाख ५० हजार लगानीमा रैथाने एग्री प्रोडक्ट सञ्चालनमा ल्याउनुभएका ढकालले शहरमा रैथाने वस्तुको माग बढिरहेको बताउनुभयो । गाउँमा उत्पादित वस्तुको बजार भाउ नआउनाले दिक्क बनेका किसानहरु रैथाने एग्री प्रोडक्टले किसानहरुका उत्पादित वस्तुहरु आयात गर्न थालेपछि किसानहरु उत्साहित भएको अध्यक्ष ढकाल बताउनुहुन्छ । 

गाउँको उत्पादन सहरमा ल्याउन थालेको छाटो समयमा नै ४३ भन्दा बढी जिल्लाका किसानहरु रैथाने संरक्षण जुटेको उहाँले बताउनुभयो । अहिले विभिन्न जिल्लाका एक सय ७५ भन्दा बढी वस्तुहरु आयात भैरहेको उहाँले बताउनुभयो ।

स्थानीय तरकारी,फलफुल खाध्यान्न,जडिबुटि,हस्तकलालाई रैथाने एग्री प्रोडक्टले मुख्य कार्यक्षेत्रको रुपमा लिएको छ । रैथाने वस्तुको प्रयोगले मानिस स्वस्थ हुने रैथाने एग्री प्रोडक्टको विश्वास छ । ‘कृषिमा समृद्धि ल्याउन स्थानीय उत्पादनलाई जोड दिनुपर्छ । हाम्रो मौलिक सीप हराउँदै गए हाम्रो कृषि प्रणाली ध्वस्त हुन्छ’,अध्यक्ष ढकालले भन्नुभयो । 

अन्तराष्ट्रिय संस्थाको हुँदा खाँदाको जागिर छोडेर रैथाने संरक्षणमा किन आउनुभयो भन्ने प्रश्नमा उहाँ फिस्स हाँस्नुभयो । उहाँ रैथाने संरक्षण आफ्नो रुचीको विषय भएको बताउनुहुन्छ । डब्लुडब्लुएफमा रहँदा पनि वातावरण र प्रकृतिसम्बन्धित सम्बिन्धित काम गरेकाले रैथाने संरक्षणमा आफूलाई जाँगर आएको उहाँको भनाई छ ।

​​​​​​​

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : १७ बजे