पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आजसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । 

छापिएका मध्ये प्रतिनिधिसभा तर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभा तर्फको मतपत्र ५० लाख २४ हजार रहेका निर्वाचन आयोगले जनाएको छ । 

योसँगै प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ भने प्रदेशसभा अन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । 

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । 

भोलि (बिहीबार) देखि दोस्रो चरणको मतपत्र ढुवानी
​​​​​​​समानुपातिक निर्वाचन प्रणालीतर्फ भोलि (बिहीबार)देखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु हुने छ । 

पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेस प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : २५ बजे