कात्तिक १८ भन्दा अघि प्रचार-प्रसार गरे उम्मेदवारी खारेज गरिदिने आयोगको चेतावनी

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित २०७९ कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचार-प्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गरिदिने चेतावनी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । कतिपय उम्मेदवारहरूमाथि आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म अध्ययन गरिरहेको पनि आयोगको भनाइ छ । त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्नेतर्फ आयोगले सतर्क गराएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक दलका प्रतिनिधि समेतको सहभागितामा बनेको निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात कार्तिक १८ बाट मात्रै निर्वाचन प्रचार प्रसार गर्न पाइन्छ भनेको छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने क्रियाकलापहरू गर्न पाइँदैन भन्ने कुरा दलहरूलाई पनि राम्रोसँग जानकारी छ ।’

कात्तिक १८ भन्दा अघि घरदैलो गर्न भने छुट रहेको आयोगको भनाइ छ । तर त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ जनाभन्दा बढी जान पाइने छैन । ‘घरदैलोमा २५ जना जाँदा पनि कुनै बाजागाजा वा तामझाम गरेर जान पाइँदैन । हामी हेरिरहेका छौ, बुझिरहेका छौ, देखिरहेका छौ– थुप्रै ठाउँबाट घरदैलो गर्न जाने सन्दर्भमा उहाँहरु बढी तामझाम गरेर जानुभएको छ’, आयुक्त भण्डारीले भन्नुभयो, ‘बाजागाजा बजाइदिनुभयो, नाचगान गर्नुभयो र उहाँहरुले भोजभतेर पनि गर्न सुरु गर्नुभएको छ भनेर उजुरी परेको छ  । ती उजुरीहरू आयोगले मसिनो गरी छानविन गरिरहेको छ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ०६ बजे