बहुदलमा व्यक्ति होइन, दल प्रधान हुन्छ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरु भएको छ । राजनीतिक दलहरूले कोही गठबन्धन बनाएर त कोहीले तालमेल गरेर चुनावमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन् । स्वतन्त्र भन्नेहरू पनि ‘नो नट एगेन’ भन्दै चुनावी मैदानमा उत्रिएका छन् । ती मध्ये को वास्तवमा स्वतन्त्र हुन र को होइनन् ? छुट्याउनु पर्ने भएको छ । कोही दलीय राजनीति त्यागेर स्वतन्त्र भनेर चुनावी मैदानमा देखिएका छन् भने कोही आफ्नो पहिचान लुकाएर निश्चित दललाई जिताउन स्वतन्त्र भएका छन् । त्यस मध्येका पछिल्लो उदाहरण घनश्याम भुसाललाई लिन सकिन्छ । एमालेले उम्मेदवार नबनाएपछि एमालेलाई नै हराउन उनले पार्टी त्यागेर गठबन्धनको साझा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

घनश्याम भुसालको राजनीतिक चरित्रप्रति व्यङ्ग्य गर्दै अञ्जु ज्वालाले सामाजिक सञ्जालमा लेखेकी छिन्;
​​​​​​​टिकट पाए दल
नपाए घनश्याम भुसाल!

त्यस्तै घनश्याम भुसाल लगायतका व्यक्तिप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा रामचन्द्र उप्रेतीले लेखेका छन्, “पार्टी प्रणालीमा उम्मेदवारका आकाङ्क्षीहरूले उम्मेदवार बन्न नपाउँदा पार्टी नै परित्याग गर्नु र स्वतन्त्र उम्मेदवार बन्नु भनेको टिकट नपाउने योग्यता पुष्टि गर्नु हो ।” यतिञ्जेल फलानो दलको केन्द्रीय नेता भनेर राजनीति गर्ने र रवाफ देखाउने पात्रहरूले आज आएर म स्वतन्त्र हुँ भनेर जनतालाई झुक्याउन चुनावी मैदानमा देखिएका छन् । हामीले त्यस्ता पात्र र प्रवृत्तिलाई चिनेर बहिष्कार र तिरस्कार गर्न सक्नुपर्छ ।

आज हामीले अपनाइरहेको राजनैतिक प्रणाली बहुदलीय संसदीय व्यवस्था हो । यो व्यवस्थामा व्यक्तिभन्दा दल सधैँ प्रधान हुन्छ, यद्यपि दलको नेतृत्व सामूहिक रूपमा व्यक्तिले नै गर्छ । तर हिजोआज व्यक्तिलाई मात्र प्रधान बनाएर राजनैतिक प्रणालीलाई कमजोर बनाउने प्रयास भइरहेका छन् । अरू त अरू नेपाली काँग्रेसका महामन्त्रीहरू नै दलीय प्रणालीलाई कमजोर बनाउने गरी आफूलाई विशेष देखाएर चुनाव जित्ने रणनीतिमा रमाएका छन् । उनीहरूले संस्थागत निर्णयबिनै गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जनतालाई झुक्याउन खोज्दै छन् । जबकि उनीहरू नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार हुन् । भोट माग्दा म काँग्रेसको उम्मेदवार हुँ, हाम्रो सभापति शेरबहादुर देउवा हुन् भन्न छोडेर आफूलाई जिताउन व्यक्तिगत अपिल गर्दैछन् । यस्ता गतिविधिहरूले गर्दा व्यवस्था विरोधीहरू अझ उत्साहित भएर बहुदलमा निर्दल अनि गणतन्त्रमा राजतन्त्रको वकालत गर्दैछन् ।

सामाजिक सञ्जालमा गगन थापा र विश्वप्रकाश शर्मालाई जिताऔँ भन्ने नारा लागेका छन् । दुवै नेपाली काँग्रेसको महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू हुन् । महामन्त्री नै भएता पनि शर्मा र थापाको पार्टीभित्र कुन हविगत छ, त्यो सर्वविदितै छ । त्यसैले सबभन्दा पहिला उनीहरू काँग्रेस हुन् । इतिहास साक्षी छ, नेपाली काँग्रेस बलियो हुँदा देश सधैँ कमजोर बनेको छ र जनताले हारेको महसुस गर्न बाध्य भएका छन् । अब फेरि त्यो इतिहास दोहोर्‍याउन खोज्नु भनेको राष्ट्रिय स्वार्थ कमजोर बनाउनु हो । त्यसैले व्यक्ति मात्र होइन, संस्था अर्थात् पार्टी पनि हेरेर भ्रम, प्रभाव र प्रलोभनमा नपरी राष्ट्रिय स्वार्थ बलियो बनाउने पार्टीको चिन्ह खोजेर मतदान गर्नुपर्ने भएको छ । त्यसैले व्यक्ति मात्र होइन, पार्टीले विगतमा सत्तामा रहेका बेलामा गरेका कामहरूको पनि समीक्षा गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ ।

अहिले उम्मेदवार बन्न नपाएको झोकमा केही नेताहरू कोही पार्टीमा बसेर त कोही षडयन्त्रमा लागेर पार्टीले दिएको टिकट छोडेर स्वतन्त्र उम्मेदवार भएका छन् । कोही भने पार्टीले टिकट नदिँदा अराजक भएर पार्टी विरुद्ध हुने गरी नेतृत्वको खोइरो खन्दैछन् । राजनीतिमा इमान, अनुशासन, त्याग र योगदान गर्ने क्षमता भएन भने संस्थागत रूपमा बहुदलीय व्यवस्था बलियो बन्न सक्दैन अनि कमजोर व्यवस्थाभित्र खेलेर बाह्य शक्तिले हस्तक्षेप गर्न सफल भइरहन्छ ।

हामीले बुझ्नुपर्छ, पार्टी प्रणाली अनुशासित र बलियो नहुँदासम्म बहुदलीय व्यवस्था व्यवस्थित र जनमुखी बनाउन सकिदैन् । अनि दक्षिणपन्थी पार्टीहरूको चरित्र बोकेर वामपन्थी पार्टी देशमुखी बनाउन पनि सकिदैन् । यति सामान्य सत्य नबुझ्दा तीन चार दशक पार्टी राजनीतिमा बिताएकाहरू नै पार्टीका विरुद्ध लागेका छन् । हिजो एमालेमा माधव नेपाल र झलनाथ खनालहरूले गद्दारी गरे भने आज घनश्याम भुसाल र भीमबहादुर रावलहरू त्यस्तै चरित्र  देखाएर हिँडेका छन् । पार्टीमा सक्रिय हुने भनेको विचार बुझेर हो व्यक्ति हेरेर होइन, व्यक्ति त आज एउटा हुन्छ भोलि अर्को । 

घनश्याम भुसाल चुनावको सम्मुखमा वाम ध्रुवीकरणको कालो बर्को ओढेर पार्टीप्रति गद्दारी गर्दै विरोधीहरूको साझा उम्मेदवार बनेका छन् । अब चुनावपछि भीमबहादुर रावलले पार्टी छोड्ने सङ्केत पत्रकार सम्मेलनमा ‘घनश्याम भुसालले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार हुनलाई उनले बचाउ गरेर गरेका छन् ।’ नेकपा एमालेलाई खण्ड–खण्ड गरेर कमजोर बनाउने रणनीति अन्तर्गत माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल र भीमबहादुर रावलहरूको प्रयोग भइरहेको राजनीतिक घटनाक्रमले पुष्टि गर्दैछ । यो लेखकले त त यो कुरो छ सात महिना अघि नै “रावल र भुसालको राजनीति, एमाले कमजोर बनाउने रणनीति” शीर्षकको आलेखमा उल्लेख गरेको थियो ।

पछिल्लो समय पार्टीमा भुसाल–रावल प्रवृत्ति बढ्नु र त्यसलाई समय मै चिनेर नियमन गर्न र नियन्त्रणमा लिन नसक्नु मूल नेतृत्वको कमजोरी थियो । माझण्डहरूबाट अपेक्षित क्षति पुर्‍याउन नसकेपछि अस्थिर उपयोगितावाद र षडयन्त्रको सिद्धान्तले नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउँदै छ भन्ने चेत हामीमा नआउँदा नेकपा हुँदै एमालेमा विभाजन आएको थियो। त्यतिले पनि नपुगेर अहिले एकातिर भुसाल र रावललाई उपयोग गर्दैछन् भने अर्कातिर प्रभु साहमार्फत षडयन्त्र । भुसाल, रावल र साहहरू केपी ओलीलाई दोष देखाएर आफ्नो कुरूप अनुहारहरू छोप्ने चेष्टा गर्दैछन् ।

पार्टी राजनीति त्यसमा पनि कम्युनिष्ट राजनीतिमा नेता तथा कार्यकर्ताहरू एकताबद्ध हुने मुख्य माध्यम पार्टीको विचार, नीति र नेतृत्व हो । नेतृत्व त एउटापछि अर्को आउँछ, तर विचार र नीति परिष्कृत हुँदै लागु भइरहन्छ किनभने पार्टी  र नेतृत्व विचारबाट निर्देशित हुन्छ। तर व्यक्तिको व्यक्ति चाहानामा होइन। अमुक व्यक्तिलाई देखाएर पार्टीमा रहने वा नरहने भन्ने कुरा अराजनीतिक र गैर मार्क्सवादी प्रवृत्ति हो, जुन माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल र भीमबहादुर रावलहरूमा स्पष्ट देखियो । त्यही प्रवृत्ति अर्को रूपमा हजुरबुवा पुस्तालाई हराऔँ भन्दै एमालेका विरुद्धको चुनावी राजनीतिमा सक्रिय भइरहेका पनि छन् ।

मोहनप्रसाद मैनालीले राजनीतिमा उमेर र विचारलाई लिएर पत्रकार बिदुर खड्काको भनाइलाई यसरी ट्विट गरेका छन्। ’९७ वर्षका भए नेता महाथिर, अहिले चुनावमा लड्दै छन्। जसले विकसित मलेसिया बनाए। युवा तथा गैर–राजनीतिज्ञ जेलेन्स्कीले युक्रेन जलाइरहेका छन्। नेतृत्व गर्न उमेर होइन, भिजन र इच्छाशक्ति सही हुनुपर्ने रहेछ।’

“विचार प्रधान राजनीतिमा नेतृत्वले कार्यकर्ता तथा जनतालाई आफ्नो पार्टीको राजनीतिक यात्रामा सहयात्री बन्न र सहयोगी हुन आह्वान गर्छन् तर कहिल्यै बाध्य पार्दैनन्। राजनीति गर्छु भन्ने हरेक व्यक्ति अथवा नागरिकले बुझ्नुपर्छ।”

आज नेकपा एमालेमा केपी ओलीको नेतृत्व छ भने नेपाली काँग्रेसमा शेरबहादुर देउवा। ओली र देउवा भोलि नेतृत्वमा हुने छैनन्। एमालेको विधानले त उमेरका कारणले ओलीलाई अर्को पटक नेतृत्वमा आउन नपाउने व्यवस्था नै गरेको छ भने नेकांको विधानले दुई पटकभन्दा बढी पार्टी सभापति हुन नपाउने व्यवस्थाले देउवा फेरि सभापति हुन पाउँदैनन्। अहिले ओली र देउवालाई व्यक्तिगत रूपमा मन नपराएर कथित विद्रोह गर्नेहरूले दलीय प्रणाली र संसदीय राजनीतिलाई आत्मसाथ गर्न नसकेको देखिन्छ। उनीहरूमा उन्नत राजनीतिक संस्कार देखिएन। पार्टी कमिटीभित्र उठाउनु पर्ने मुद्दा सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक गरेर पार्टी नेतृत्वलाई खुइल्याउने चेष्टा गर्दैछन्। “बहुदलीय संसदीय व्यवस्थामा व्यक्ति होइन, दल प्रधान हुन्छ” भन्ने यथार्थ दसकौँ राजनीति गरेर पनि तिनले अझै बुझेका रहेनछन् भनेर नेपाल, खनाल, रावल र भुसाल अनि सिंहका गतिविधिहरूले प्रमाणित गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ३६ बजे