मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीलाई किष्टमा राखिने

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ ।  

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना हुनुभएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । 

अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उहाँको  पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जली दिने कार्यक्रम छ ।  सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिनुहुनेछ । 

शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गर्नुभएको थियो  

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ३५ बजे