मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । 

अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गर्नुभयो ।

लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरु गरिएको थियो । 

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएपछि उहाँलाई सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो । 

१९७७ वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिनुभएका जोशी देशकै जिउँदो इतिहास हुनुहुन्थ्यो । सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रूपमा २००१ देखि २००६ सालसम्म लमजुङ र तनहुँका गाउँहरूमा पुग्नुभएको थियो । 

भाषा, कला, संस्कृतिको संरक्षण संवर्द्धन र विकासमा योगदान दिनुभएका जोशी वि.सं. २०१३, २०१७ र २०१८ मा गरेर तीन पटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति हुनुहुन्थ्यो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा उहाँको योगदानको कदर स्वरूप जोशीलाई सु प्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। 

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्र दीपले सम्मानित गरेको छ । जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

उहाँ नेपालको पुरातत्त्व विभागका पहिलो निर्देशक समेत हुनुहुन्छ । २०७७ माघ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले  हुलाक टिकटको आवरणमा टाँचा प्रदान गर्नुभएको छ ।

 

 

 

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५७ बजे