सशस्त्र प्रहरीद्वारा पत्रकारहरूलाई समाचार संकलनमा अवरोध

सप्तरी – सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार संकलनमा खटिएका सप्तरीका सञ्चारकर्मीलाई समाचार संकलन गर्न सशस्त्र प्रहरीले अवरोध गरेको छ ।

गोरगामास्थित सशस्त्र प्रहरीको ६ नम्बर हेडक्ववाटरले समाचार संकलन गर्न गएका पत्रकारलाई अवरोध गरेको हो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव,कान्तिपुरका अवधेशकुमार झा, आरएन विश्वास, एभिन्युजकर्मी वैद्यनाथ यादव,सञ्चारकर्मीद्वय विद्यानन्द राम र सौरभ यादवलाई समाचार संकलनमा सशस्त्र प्रहरीले अवरोध गरेको एभिन्युजकर्मी वैद्यनाथ यादवले बताए ।

गोरगामास्थित सशस्त्र प्रहरीको हेडक्वाटरमा दरबन्दी भई बिओपी छिन्नमस्ता कार्यरत असई सत्यनारायण यादव  असोज १८ गतेदेखि बेपत्ता भएको थियो । असोज २० गतेको उनको शव सीमावर्ती बिहारको जिरोगास्थित घोडदह खोलामा फेला परेको थियो । 

उक्त हत्यामा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता रहेको समाचार सप्तरीका पत्रकारले निरन्तर प्रकाशन प्रसारण गरेपछि पत्रकारहरू सशस्त्र प्रहरीको आँखाको तारो बन्दै गएका थिए। 

सोही प्रकरणमा आज शनिबार सप्तरीका पत्रकारहरूले सशस्त्र प्रहरीको हेडक्वाटरको भिडियो लिन खोज्दा सशस्त्र प्रहरीले रोक लगाएको यादवको आरोप रहेको छ।

पत्रकारले अनुमति लिएर हेडक्वाटर प्रवेशद्वारको मात्र भिडियो खिच्ने भन्दा पनि यही हत्याकाण्डकै सोधपुछकालागि केन्द्रीय हेडक्वाटर तानिएका गणका प्रमुख एसपी प्रदीप खडको आदेशअनुसार खिच्न नमिल्ने भन्दै समाचार संकलनमा अवरोध गरेको हो ।

यस विषयमा सशस्त्र प्रहरीकाका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले पत्रकारलाई भिडियो खिच्न नदिने कुनै नीति नभए पनि लगातार समाचार प्रसारण नगर्न पत्रकारलाई टेलिफोनमा आग्रह गरे ।  

यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समाचार संकलनमा सशस्त्र प्रहरीले पत्रकारलाई रोक लगाउनु भनेको प्रेस स्वतन्त्रतामाथि सोझै हस्तक्षेप भएको भन्दै सशस्त्र प्रहरीको उक्त कार्यको भर्त्सना गरेको छ ।

महासंघका सचिव आरएन विश्वासले सशस्त्र प्रहरीलाई नेपालको संविधानभित्र रहेर पत्रकारलाई समाचार संकलनमा रोक लगाउन अधिकार नभएको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : ४५ बजे