सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले आज घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो  ।

यसअघि जिल्ला अदालत काठमाडौँले ७ दिनका लागि म्याद थप गरेको थियो । अनुसन्धानको गर्न ७ दिनका लागि लिइएको म्याद आज सकिएको थियो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी दसैँ बिदाका कारण अदालत बन्द रहेकाले सोमबार मात्र अदालतमा उपस्थित गराएको थियो ।  

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ११ : २६ बजे