जनताको बहुदलीय जनवाद एक्काइसौँ शताब्दीको मार्क्सवाद

जनताको बहुदलीय जनवाद 
‘जनताको बहुदलीय जनवाद (जबज)’ नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । यो नयाँ क्रान्तिको सिद्धान्तमा आधारित आफ्नै मौलिक विशेषतायुक्त सामन्तवाद, साम्राज्यवाद विरोधी क्रान्तिको कार्यक्रम हो । यसमा केही नयाँ र मौलिक विशेषता सहितको नयाँ नयाँ जनवादी क्रान्तिको कार्यक्रमका रूपमा बुझ्न सकिन्छ । नयाँ जनवादी कार्यक्रमका आधारभूत विशेषताहरूमा यसले थप नयाँ विशेषताहरूलाई आत्मसात गरेको छ ।

यस कार्यक्रममा थपिएका विषयलाई ‘जबजका थप १४ विशेषता’ भन्ने गरिएको छ । यी थप १४ विशेषतामा निम्न विषयहरू छन् :
(१) संविधानको सर्वोच्चता, 
(२) बहुलवादी खुला समाज, 
(३) शक्ति पृथकीकरणको सिद्धान्त, 
(४) मानव अधिकारको रक्षा, 
(५) बहुदलीय प्रतिस्पर्धाको प्रणाली, 
(६) आवधिक निर्वाचन, 
(७) बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, 
(८) कानुनको शासन, 
(९) जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, 
(१०) राष्ट्रिय हितमा विदेशी पूँजी र प्रविधिको उपयोग, 
(११) क्रान्तिलाई सहज बनाउन क्षतिपूर्तिको सिद्धान्त, 
(१२) राष्ट्रिय हितमा आधारित विदेश नीति, 
(१३) नेतृत्व र अधिनायकत्वको नयाँ अवधारणा 
(१४) जनताको बहुदलीय जनवाद नामाकरण रहेका छन् । 

यी विशेषतामा आधारित भएका कारणले जनताको बहुदलीय जनवादलाई कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्त, मौलिक र नवीन कार्यक्रम मानिएको हो । अन्य विषयका साथै मूलतः यसले राज्यको लोकतान्त्रीकरण, पार्टीहरूको लोकतान्त्रीकरण र समाजको लोकतान्त्रीकरणमा जोड दिएको छ । 

जबज विकासका आधारहरू
सोभियत मोडेलको समाजवादको असफलता र चिनियाँ कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिको नाममा भएका अतिवादी भूलहरूलाई यसले गहिरो शिक्षाको रूपमा ग्रहण गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सफलता र असफलताका अनेकौँ अनुभवहरूका साथै वि.स. २००६ साल वैशाख ९ मा स्थापना भएको नेपाल कम्यनिष्ट पार्टीले स्थापना कालमा जहाँनियाँ हुकुमी शासनका विरुद्धका आन्दोलनमा सहभागी भएको, त्यसपछि लामो समय निरङ्कुश पञ्चायती व्यवस्थाको नाममा स्थापना गरिएको शाही निरङ्कुशताका विरुद्धमा गरेका संघर्षहरूका अनुभवहरूले जबजको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । यी तथ्यहरूले नेपालको कम्युनिष्ट आन्दोलन अन्यत्रको भन्दा भिन्न स्वरूपमा विकास भएको पुष्टि हुन्छ । यस्तो भिन्नता तथा विशेषता जनताको बहुदलीय जनवादको विकासका महत्वपूर्ण आधारहरूका रूपमा रहेको छ । 

नेपालको लोकतान्त्रिक आन्दोलन 
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल कम्यनिष्ट पार्टीले सदैव संयुक्त संघर्षको कार्यदिशामा जोड दिँदै आयो । वि.स.२०१७ सालमा तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी राजनीतिक दलहरूमाथि प्रतिबन्धको निर्दलीय पञ्चायतको नाममा निरङ्कुश व्यवस्था लादेपछि राजाको यस कदमका विरुद्धमा कमरेड पुष्पलालले संयुक्त जनआन्दोलनको आवश्यकतामा जोड दिनुभयो । तर नेपाली काँग्रेसको नेतृत्व यसका लागि तयार भएन । पछि आएर जननेता मदन भण्डारीको पहलकदमीमा २०४६ सालमा मात्र त्यो संभव भयो र वाम—काङ् संयुक्त आन्दोलनको बलमा निरङ्कुश निर्ददलीय पञ्चायती व्यवस्था धराशायी भयो र देशमा बहुदलीय व्यवस्था पुनःस्थापना भयो । यो अवस्था जबज विकासका लागि महत्वपूर्ण आधार हो । 

नेपाली मौलिकता अनुरूपको विचार
जनताको बहुदलीय जनवाद नेपालको सामाजिक अवस्था तथा राजनीतिक आन्दोलनको आवश्यकताबाट प्रकट क्रान्तिको चरित्रको आधारमा विकास गरिएको हो । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र भौगोलिक विविधता नेपाली समाजको विशेषता हो । यस्तो बहुलतालाई हाम्रो सामाजिक जीवनको विशेषताका रूपमा लिन सकिन्छ । यसलाई जनताको बहुदलीय जनवादले आत्मसात गरेको छ । 

पूँजीवादले आफ्नो रक्षा र विकासका सन्दर्भमा अवलम्बन गरेका नयाँ मान्यताहरूले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका सन्दर्भमा तदनुरूप नयाँ सोचको विकास अपरिहार्य बन्दै गएको अवस्था थियो । ती सन्दर्भहरू र नेकपा (एमाले)को आन्दोलनको उन्नत वैचारिक अभ्यासको परम्पराको पृष्ठभूमिमा त्यस आन्दोलनको वैचारिक नेताका रूपमा रहनु भएका जननेता मदन भण्डारीको अगुवाइमा यसको विकास सम्भव भएको हो । जबज पाँचौँ राष्ट्रिय महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा पारित भएको हो । छैठौँ राष्ट्रिय महाधिवेशनले यसलाई नेतृत्वकारी विचारका रूपमा र आठौँ राष्ट्रिय महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेको छ । यस अर्थमा जनताको बहुदलीय जनवाद एक्काइसौँ शताब्दीको माक्र्सवाद हो ।

जबजका प्रमुख विशेषता र उपलब्धिहरू
मानव जातिले आर्जन गरेका जीवन्त र मूल्यवान उपलब्धिको जगमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्नु, शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट जनक्रान्ति सम्पन्न गर्न सकिने मान्यताको विकास गर्नु, क्रान्तिपूर्व कम्युनिष्ट सरकार र सरकार सञ्चालनको माध्यमबाट क्रान्तिकारी शक्ति सञ्चयको कार्यनीतिलाई सफलतापूर्वक अघि बढाउनु, राज्यसत्ता, नेतृत्व र अधिनायकत्वका सन्दर्भमा नयाँ मान्यताको विकास गरी प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्न सकिने र त्यसका माध्यमवाट वर्गीय हितको पक्षपोषण गर्न सकिने मान्यताको विकास गर्नु परम्परागत कम्युनिष्ट आन्दोलनको प्रचलनभन्दा भिन्न छन् । तसर्थ यी जनताको बहुदलीय जनवादका उपलब्धि हुन् ।
 
पार्टी जीवनको लोकतान्त्रिकरणका रुपमा पार्टी निर्माणको नयाँ अवधारणाको विकास गर्नु, अन्तरपार्टी जनवादको आयाम र आधारलाई फराकिलो बनाउनु, पार्टीमा पार्टी सदस्यको सम्प्रभुसत्ता स्थापित गर्नु जनताको बहुदलीय जनवादको पार्टी सञ्चालनका सन्दर्भमा विकास गरिएका उपलब्धि हुन् । 

परराष्ट्र नीतिमा नयाँ मान्यताको विकास गर्नु यसको महत्वपूर्ण उपलब्धि हो । पार्टी अध्यक्ष प्रधानमन्त्री भएको समयमा  यसको सफल प्रयोग गरियो । सिद्धान्त र व्यवहारका बीचमा सङ्गति कायम गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि हो । यस सन्दर्भमा जननेता कमरेड मदन भण्डारीले अघि सार्नुभएको ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो’ भन्ने मान्यता मननीय र स्मरणीय रहेको छ । 

माक्र्सवादी दर्शनका तीन नियमहरू— मात्राबाट गुणमा परिवर्तन, निषेधको निषेधसम्बन्धी नियम र सङ्घर्ष र एकताको नियमलाई नेपाली क्रान्तिको विकासमा सही रूपमा प्रयोग गर्न सफल हुनु ठूलो उपलब्धि मान्न सकिन्छ । शान्तिपूर्ण बाटोबाट समाजवाद निर्माणको आधार तयार गर्नु, नेपालको संविधान २०७२ मा उक्त मान्यतालाई स्थापित गर्न सफल हुनु, बैसठ्ठी—त्रिसठ्ठी सालको जनक्रान्तिको वैचारिक नेतृत्व गर्न सफल हुनु जनताको बहुदलीय जनवादको महत्वपूर्ण राजनीतिक, वैचारिक, सैद्धान्तिक उपलब्धि हो ।

नेपाली राजनीतिमा जबजको सान्दर्भिकता
वैचारिक–राजनीतिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जबजको सान्दर्भिकता पटक–पटक पुष्टि भएको छ । नेपाली राजनीतिका दुई प्रमुख धार माओवादीको उग्रवामपन्थता र नेपाली काँग्रेसको यथास्थितिवादसँगको सङ्घर्षमा जबजका मान्यताहरू सही साबित भएका छन् ।

माओवादीसँगको वैचारिक बहसका सन्दर्भमा
नेकपा माओवादीले नेपाली क्रान्तिको एक मात्र बाटो दिर्घकालीन सशस्त्र जनयुद्ध हो भन्ने मान्यताका साथ सशस्त्र युद्धमा होमिएको थियो । यस माओवादीले लिएको बाटोबाट राष्ट्रले निकै ठूलो मात्रामा जनधनको क्षति  बेहोनु परेको विषय जगजाहेर नै छ । नेकपा एमालेले क्रान्तिको एक मात्र बाटोको मान्यता गलत हो भन्ने धारणा राख्दै आयो । उनीहरूले बहुदलीय जनवाद स्वीकार गरी प्रतिस्पर्धात्मक राजनीतिक पद्धतिलाई अवलम्बन गरेको अवस्थामा सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्व कसरी कायम हुन सक्छ भन्ने माओवादी मान्यता रह्यो ।

यसका साथै विगतमा अन्यत्र भएका क्रान्तिको अवस्थालाई हेरी क्रान्तिका लागि क्रान्तिकारी सशस्त्र सेना अनिवार्य रहेको माओवादीको मान्यता रह्यो । सेना नभएको कम्युनिष्ट पार्टी हुन सक्तैन भन्ने उसको मान्यता थियो । जनवादी क्रान्तिसम्बन्धी अन्यत्रका सफलता, असफलता तथा अनुभवहरू समेतको विश्लेषण गरी संश्लेषित विचारका आधारमा नेकपा एमालेले क्रान्तिको मुख्य आधार सचेत र जागरुक जनता नै हुन् भन्ने मान्यता दृढतासाथ राख्दै आयो । २०६२—०६३ सालको जनक्रान्तिले नेकपा माओवादीका उपरोक्त तीन वटै मान्यताहरूलाई असान्दर्भिक बनाइदिए र क्रान्तिसम्बन्धी जबजका मान्यताहरू स्थापित भए । 

नेपाली काँग्रेससँगको बहसका सन्दर्भमा  
२०४६ सालको परिवर्तनलाई संस्थागत गर्ने प्रक्रियामा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच गम्भीर वैचारिक मतभेद प्रकट भयो । नेकपा एमालेले जननेता मदन भण्डारीको नेतृत्वमा ‘नेपाल अधिराज्यको संविधान २०४७’ उपर २७ बुँदे असहमति राख्यो । २०६२—०६३ सालको जनक्रान्तिले नेपाली काङ्ग्रेसको मान्यतालाई खण्डित गरिदियो र तत्कालीन २७ बुँदे असहमति नै २०६५ जेठ ४ को ऐतिहासिक घोषणा मार्फत स्थापित भए । 

नेकपा (एमाले)ले पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता आत्मसात गरेपछि नेपालका राजनीतिक पार्टीहरू कुनै न कुनै रूपमा त्यसबाट प्रभावित भए । जबज राजनीतिक क्रान्तिको बाटोका सन्दर्भमा, पार्टी निर्माणको नयाँ मान्यताका सन्दर्भमा, अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ मोडेलका सन्दर्भमा र विकासको नेपाली मोडेल प्रस्तुत गर्ने सन्दर्भमा मार्गदर्शन गर्न सफल भएको छ ।

जबजको रक्षा, प्रयोग र विकास
जबज माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा विकसित भएको हो । यो आफैमा गतिशील सिद्धान्त हो । क्रान्तिपूर्व कम्युनिष्ट नेतृत्वको सरकार र शक्ति सञ्चयको कार्यनीति यसले प्रयोग गरेको सफल कार्यनीति हो । ग्रामीण विकासका मौलिक अवधारणाको विकास आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रम र लोककल्याणकारी राज्यको अवधारणा अनुरूप सामाजिक सुरक्षा भत्ताको कार्यक्रम यसको जबजको मार्गदर्शनको सफलता हो ।

पार्टी जीवनको लोकतान्त्रीककरणका लागि र बहुपदीय संरचनाको निर्माण र त्यसको अभ्यासमा पार्टी अघि बढिरहेको छ । जबजको मार्गदर्शनमा नै २०६२—०६३ सालको जनक्रान्तिको वैचारिक आधार निर्माण भएको हो । माओवादी द्वन्द्वको राजनीतिक समाधानको बाटो पनि जबज नै हो ।

राज्यका नीति निर्माण तथा शासन सञ्चालनका सबै क्षेत्रमा समानुपातिक समावेशिताको प्रयोग तथा आर्थिक, सामाजिक विकास र रूपान्तरणको अवधारणाको मार्गदर्शक पनि जनताको बहुदलीय जनवाद नै हो । यसरी जबज एक्काइसौँ शताव्दीको माक्र्सवादको नेपाली संस्करणका रूपमा स्थापित भएको छ ।

आजको सन्दर्भमा जनताको बहुदलीय जनवाद 
सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । संविधान सभाबाट बनेको नयाँ संविधानमा जबजका मान्यताहरू अधिकतम स्थापित भएका छन् । देश पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । पूँजीवादको विकासतर्फ नगई राष्ट्रिय पूँजीको विकासको बाटो हँुदै शान्तिपूर्ण रूपमा समाजवादमा संक्रमण गर्ने बाटो अवलम्बन गरिँदै छ । जबज अनुसार जनवादी व्यवस्थाको सुदृढीकरणको अवधि अपेक्षाकृत रूपमा लामो हुने र उक्त अवधि तीन विशेष अवधिका रूपमा रहने मान्यता छ । पहिलो, पुरानो समाज व्यवस्थाको अवशेषलाई सबै क्षेत्रबाट समाप्त पार्ने काममा केन्द्रित भएर लाग्ने अवधि; दोस्रो, नयाँ उत्पादन सम्बन्धका आधारमा समाजका सबै क्षेत्रको विकासमा केन्द्रित भएर लाग्ने अवधि र तेस्रो, शान्तिपूर्ण रुपमा समाजवादमा संक्रमणका लागि केन्द्रित भएर लाग्ने अवधि हुनेछ । समाजवादमा सङ्क्रमणका सम्बन्धमा जबजको दृष्टिकोण यसरी स्पष्ट रहेको छ । 

नेपालमा लोकप्रिय जनमतबाट कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनाउने सैद्धान्तिक श्रेय जनताको बहुदलीय जनवादलाई जान्छ । वि.सं. २०५१ सालमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित सरकारको समयमा अघिसारिएका आप्mनो गाउँ आफै बनाऊँ, नौ स, ज्येष्ठ नागरिक तथा एकल महिला लगायतलाई भत्ता तथा सामाजिक सुरक्षाका कार्यक्रमहरू जबजकै मार्गदर्शनका विषय थिए भने पछिल्लो समय पार्टी अध्यक्ष कमरेड केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले जबजको मार्गदर्शन र यसको तात्कालिक राजनीतिक कार्यदिशामा आधारित रहेर अघि सारेको नीति कार्यक्रम र बजेट प्रस्तुत भएको थियो । परराष्ट्र नीतिमा नयाँ प्रयोग र राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा वृद्धि गर्ने दिशा अवलम्वन गरेको छ । समृद्ध नेपाल, सुखी नेपाली अन्तर्गत विकास र समृद्धिको नयाँ बाटो अवलम्वन गरेको छ ।

आर्थिक, सामाजिक विकास र रूपान्तरणको दिशा
वस्तु र सेवाको प्रवाह निजी क्षेत्र मार्फत गर्नु पर्दछ भन्ने बाटो पुँजीवादको बाटो हो । वस्तु र सेवाको प्रवाह सार्वजनिक÷राज्यबाट गर्नु पर्दछ भन्ने बाटो समाजवादको बाटो हो । अर्को बाटो वस्तु र सेवाको प्रवाह सार्वजनिक–निजी साझेदारीमा गर्नुपर्छ भन्ने हो । वस्तु र सेवाको प्रवाह निजी र सार्वजनिक क्षेत्रको प्रतिस्पर्धाका आधारमा अघि बढाउन पर्दछ भन्ने बहुलताको बाटो हो । जबजले अर्थतन्त्रको विकासका लागि निश्चित समयसम्म आमरूपमा राजकीय, निजी र सहकारी पूँजीलाई प्रतिस्पर्धी रूपमा परिचालन गर्ने नीति अवलम्बन गर्नेछ ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा जनवादी व्यवस्थाको सुदृढीकरणका माध्यमबाट समाजवाद निर्माणको आधार तयार गर्नु, त्यसका लागि तीन विशेष अवस्थाबाट योजनाबद्ध रुपमा नेपाली अर्थतन्त्रको विकास गर्नु, अर्थतन्त्र निर्माणको आधारका रूपमा आमजनतालाई परिचालन गर्ने नीति अवलम्बन गर्नु, राजकीय, निजी र सहकारी अर्थतन्त्रलाई प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा विकास गर्नु यतिबेलाको आर्थिक सामाजिक विकास र रूपान्तरणको दिशा हो । जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो । यसले क्रान्तिको समग्र पक्षमा मार्गदर्शन गर्न सक्दछ भन्ने विषय यसको अवलम्बनबाट पुष्टि भइसकेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ४५ बजे