‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाईंकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । 

विभिन्न पर्यटकीय तथा धार्मिक स्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् ।

पुराना पदमार्गलाई मर्मत सम्भार गरिएको छ । नयाँ ट्र्याक खोल्ने काम पनि सँगसँगै गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ । 

पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन् । हेलम्बुको कुटुङ्साङ, ठाडे पानी, गोसाईंकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग  निर्माणाधीन अवस्थामा भए पनि चलिरहेको छ । शेर्पाले भन्नुभयो, “हेलम्बु हुँदै लाङटाङ अनि पवित्र स्थल गोसाईंकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण गरिएको हो ।” उहाँले सिन्धुपाल्चोक र रसुवाको पर्यटन प्रवर्द्धनका लागि हेलम्बु सेतु बन्ने विश्वास व्यक्त गर्नुभयो । ह्योल्मोभूमि र धार्मिक स्थलका रूपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको हो । योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य छ ।

पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति पुर्‍याएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकालाई पनि मर्मत गरिएको हो । झन्डै एक सय किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरी जल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुङ्साङबाट ठाडे पानी, मेलम्ची घ्याङ, नाकोते, तार्के घ्याङ, घ्याङगुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले चलिरहेको स्थानीय गोपाल लामा बताउनुहुन्छ । 

“पुराना पदमार्ग मेटिन लागिसकेको थियो, अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो । प्राचीन गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्ची घ्याङ, घ्याङ्गुल, झिचेन मिलेरेपा गुफा, ढुकु, महागुरु रेन्पोछे छापसम्म पदमार्ग बनाउँदै लगिएको छ । रासस

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ०५ बजे