दसैँ बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

काठमाडौँ  । दसैँको बिदापछि आइतबारबाट खुलेको धितो पत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि  भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अङ्कले वृद्धि भएर १८९८.३८ मा पुगेको छ ।

यस्तै, ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अङ्कले उकालो लागेर तीन सय ७२.२१ मा पुगेको छ । कुल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन सकेन । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । जीवन बिमा, विकास बैङ्क, निर्जीवन बिमा, लघुवित्त र उत्पादन उपसमूहको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आइतबारको कारोबारपछि कुल पुँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।

नबिल बैङ्क तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैङ्क ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैङ्क ८.७०, मितेरी डेभलपमेन्ट बैङ्क ८.२३ र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ४.४८, आरबीबी म्युचुअल फण्ड एक १.९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, सिटिजन म्युचुअल फण्ड एक १.८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १.८० प्रतिशतले गुमाएका छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ५२ बजे