वामपन्थी राजनीतिलाई कमजोर बनाउन विवाद सिर्जना गरेर विभाजनको जुन खेल भइरहेको छ, त्यसले तत्काल नेपालको वामपन्थी आन्दोलन रूपमा कमजोर देखिएता पनि सारमा बलियो हुने आधार तयार गर्दैछ किनभने सच्चा वामपन्थीहरू ध्रुवीकृत हुने अवसर मिलेको छ ।
वामपन्थी आन्दोलनभित्रका ऐजेरुहरू चिन्ने मौका हामीले पाएका छौँ । वामपन्थी आन्दोलनको शुद्धीकरण र सुदृढीकरणका लागि त्यस्ता ऐजेरुहरू हटाउनु पर्थ्यो तर समय चिन्न र हटाउन नसक्दा आन्दोलनले बेला बेलामा क्षति व्यहोर्नु परेको छ । २०१७ साल पछिका ५२ वर्षहरूमा त्यस्ता ऐजेरुहरू पहिले केसर जङ्ग रायमाझीका रूपमा प्रकट भए भने अहिले माधव, झलनाथ र प्रचण्ड अर्थात् माझण्ड हुँदै घनश्याम भुसालहरू दोस्रो केशरजंगका रूपमा सक्रिय भइरहेका छन् । हामीले बुझ्नुपर्छ, आन्दोलन भित्रका ऐजेरुहरू चिन्न नसक्नु वामपन्थी नेता तथा कार्यकर्ताहरूकै मुख्य कमजोरी थियो र रह्यो ।
नेपालको कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउन नेकपा एमालेलाई कमजोर बनाउनुपर्छ, एमालेलाई कमजोर बनाउन केपी ओलीलाई बदनाम र कमजोर बनाउनुपर्छ भन्नेहरू कै निर्देशन र प्रायोजनमा चल्नेहरू हिजो माझण्डहरू मात्र देखिएका थिए । अहिले टिकट नपाएपछि घनश्याम भुसालहरू खुलेर लागेका छन् । अब भिमबहादुर रावलहरू खुल्न बाँकी ! यो आमनिर्वाचनले घनश्याम भुसालको अवसरवादलाई चिन्ने र चिनाउने मौका दियो । अञ्जु ज्वालाले घनश्याम भुसालको अवसरवादलाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखेकिछिन्, “जति नै गतिलो भएता पनि शत्रुसँग मिलेर आफ्नै घरमा आगो लगाउने बिभीषणलाई कसैले पूजा गर्दैन ।”
इतिहासलाई नचिन्नेहरूले वर्तमानलाई बुझ्दैनन् ।वर्तमानलाई नबुझ्नेहरूले भविष्यको खाका बनाउन सक्दैनन् । भविष्यको खाका बनाउन नसक्नेहरूले नयाँ नेपाल बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्ने ल्याकत राख्दैनन् ।
त्यही ल्याकत नभएर माझण्डहरूले केपी ओलीको ख्यातिमा आफ्नो राजनीतिक प्रगति देख्न सकेनन् र नेकपा हुँदै नेकपा एमाले विभाजनमा प्रत्यक्ष संलग्न भएका थिए । उनीहरूले आफ्नो स्वार्थ मात्र बलियो बनाउने राजनीतिलाई आदर्श बनाए अनि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन बनाएर रमाए। जसले नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउने बुर्जुवाहरूको रणनीतिलाई आंशिक रूपमा सफल बनायो। त्यति गर्दा पनि वामपन्थी आन्दोलनको मुख्य धार नेकपा एमाले कमजोर बनाउन नसकेपछि अहिले चुनावको सम्मुखमा घनश्याम भुसाललाई एमाले छोड्न हौस्याए र साझा उम्मेदवार बनाए ।
एमालेलाई कमजोर बनाउन केपी ओलीलाई बदनाम र कमजोर बनाउनुपर्छ भन्नेहरू कै निर्देशन र प्रायोजनमा चल्नेहरू हिजो माझण्डहरू मात्र देखिएका थिए । अहिले टिकट नपाएपछि घनश्याम भुसालहरू खुलेर लागेका छन् । अब भिमबहादुर रावलहरू खुल्न बाँकी ! यो आमनिर्वाचनले घनश्याम भुसालको अवसरवादलाई चिन्ने र चिनाउने मौका दियो ।
घनश्याम भुसालले एमाले छाड्ने सङ्केतको प्रक्षेपण मैले २०७८ चैत ७ गतेको मेरो आलेख “रावल र भुसालको राजनीति, एमाले कमजोर बनाउने रणनीति“ बाट गरेको थिए । त्यतिखेर कतिले पूर्वाग्रहपूर्ण आलेख भन्न पनि भ्याए तर यतिखेर ती मान्छेहरू अझै पनि घनश्याम भुसाललाई नै ठिक भन्लान् कि भुसाललाई अवसरवादी ठान्लान ? प्रश्न गर्न मन लागेको छ । नेकपा एमाले भित्रका जननेता मदन भण्डारी अर्थात् ’जनताको बहुदलीय जनवाद’ विरोधी अवसरवादीहरू बिस्तारै पाखा लाग्दैछन्। चुनावको सम्मुखमा तिनको बहिर्गमनले वैचारिक रूपमा एमालेलाई अझ एकताबद्ध बन्न र आन्दोलनभित्रका अवसरवादीहरू चिन्ने सुवर्ण अवसर मिलेको छ ।
माझण्डलाई आदर्श मानेर राजनीति गर्नेहरू नेकपा एमालेमा अझ बढी क्षति पुर्याउन सकिन्छ भन्ने रणनीतिका साथ उनीहरू एमालेमा रहेका थिए । तर उनीहरूको भूमिका खुम्चिएर क्षति पुर्याउन नसक्ने भएपछि उनीहरू एक एक गरेर नेकपा एमाले त्यागेको घोषणा गर्दै गठबन्धनको साझा उम्मेदवार बन्दैछन्। घनश्याम भुसालको प्रतिक्रियामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा नारायण शर्माले लेखेका छन्:
१. तालमेल गर्दा टिकट नपाउनुलाई ‘कत्लेआम’ भन्न मिल्छ ?
२. के १० बुँदेको स्पिरिट समाएकाहरू मात्र पढेलेखेका अनि अरू बाँकी सबै अनपढ हुन् ?
३. के विधि र विधान एक व्यक्तिको विचारमा निर्देशित हुन्छन् ?
४. फरक मत राख्ने विधि मर्यादित हुन सक्दैन ?
जनादेश विपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन मुख्य नेतृत्वदायी भूमिका खेल्ने पात्रहरू घनश्याम भुसाल र भीमबहादुर रावललाई टिकट नदिँदा नेपाली काँग्रेस, माओवादी केन्द्र र बुर्जुवा मिडियाहरूले केपी ओलीविरुद्ध विष वमन गरिरहेका छन् । विरोधीहरूले यो खालको आलोचना र विरोध गर्ने र भुसालले एमाले छोडेको घोषणापछि रावल र भुसाललाई उम्मेदवार नबनाउने पार्टीको निर्णय ठिक रहेछ भनेर एमालेका नेता तथा कार्यकर्ता अनि शुभचिन्तकहरूले बुझ्नुपर्छ ।
उचालेको कुकुरले मृगको सिकार गर्दैन भनिन्थ्यो त्यस्तै उचालेको बौद्धिक र वैचारिक नेताहरूले आन्दोलनको हितमा काम गर्दैनन् भन्ने कुरा बाबुराम भट्टराई, भीमबहादुर रावल र घनश्याम भुसालहरूका गतिविधिहरूले पुष्टि गरिरहेको छ । बाबुराम भट्टराईले स्वैच्छिक होकि निर्देशित भएर चुनावमा उम्मेदवार भएनन् उठेनन् तर रावल र भुसाललाई पार्टीले टिकट दिएन । यो आलेख तयार पार्दासम्म घनश्याम भुसाल कम्फर्टेबल सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने भएका छन् भने भीमबहादुर रावल अझै के गर्ने भनेर बोलेका छैनन् ।
प्रचण्डले एमालेमा छोडेको बीउ घनश्याम भुसाल रहेछन् । एमालेभित्र बसेर एमाले कमजोर बनाउने अनि माओवादीलाई सघाउनेहरूले एमाले छोडेको चिन्ता गर्नु आवश्यक छैन । यतिखेर टिकट वितरणलाई लिएर एमाले विरुद्ध मूलधार भनिएका सञ्चार माध्यमहरू खुलेर लागेका छन् । यो चुनावमा नेकपा एमालेले पाँच दलीय गठबन्धनसँगै रहेको सञ्चार माध्यमसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एमाले छोडेका र एमाले छोड्न खुट्टा उचालेर बसेकाहरू एमाले होइनन् भनेर ती सञ्चार माध्यमहरूलाई बुझाउनु पर्ने मात्र भएको छैन, तिनका एमाले विरोधी गतिविधिहरूको भण्डाफोर गर्नुपर्ने भएको छ । घनश्याम भुसाललाई टिकट नदिनु ठिक थियो भन्ने तथ्य उनले पार्टी छोडेर गठबन्धनको साझा उम्मेदवार भएबाटै प्रमाणित भएको छ ।
वैचारिक नेताको आवरणमा घनश्याम भुसालले एमाले विरोधी दक्षिणपन्थी गठबन्धनलाई बलियो बनाउन मुख्य भूमिका खेलिरहेका थिए । हिजोसम्म उनको आलोचना गर्दा पूर्वाग्रही भनिन्थ्यो तर आज त्यो आलोचना ठिक साबित भएको छ । वास्तवमा घनश्याम भुसाल उतिखेर देखिनै नेकपा एमाले कमजोर बनाउने र हराउने अभियानमा थिए, जुन खुलेको थिएन । अब यतिखेर खुलेको छ, घनश्याम भुसाललाई लिएर एमालेका नेता तथा कार्यकर्ताहरूमा रहेको भ्रमहरू हटेको छ । महाधिवेशनलाई “सौराहा काण्ड” भन्ने घनश्याम भुसाल संसद्को उम्मेदवार हुने टिकट नपाएपछि स्वतन्त्र उठेर गठबन्धनका साझा उम्मेदवार भएका छन् ।
प्रा.डा. बद्रिविशाल पोखरेल लेख्छन्, “पछिल्लो अवधिमा घनश्याम भुसालले एमाले पार्टीको नेता भएर कहिले पो काम गरेका थिए र ! विकासका नाममा फाँसीवाद आउँछ (नेपाल राष्ट्रिय साप्ताहिक आइतबार २०७५ साल पृ.२०/२२) भनेर ओली सरकारका बहुआयामिक विकास निर्माण विरुद्ध जेहाद छेड्ने घनश्याम भुसाल नै हुन्। जबजको च्याप्टर क्लोज गर्छु भनेर नेपाली विशेषताको समाजवादको स्पष्ट रुपरेखा कार्ने गर्ने सिद्धान्त विरुद्ध सुनियोजित प्रहार गर्ने पनि उनै हुन् । जबज र जननेता मदन भण्डारीकै मार्गदर्शन र प्रकाशमा कम्युनिष्ट तथा लोकतान्त्रिक उपलब्धिलाई पटक्कै नदेख्ने उनी आफूलाई आफैँ मदनभन्दा महान् नेता ठान्छन्। गौरवशाली पार्टीको पहिले कहिल्यै नभएको विशाल जनसहभागिताको दशौँ ऐतिहासिक महाधिवेशनलाई सौराहा काण्ड भनेर आम कार्यकर्ताको हुर्मत लिने भुसाल नै हुन् । .. पार्टीका माथिल्लो तहमा सांसद भएर पार्टीका औपचारिक फोरममा बसेर अब रत्यौली खेल्न नपाइने चिन्ता, छटपटी र व्यग्रताका कारण भुसालले पार्टी परित्याग गरेको स्पष्ट हुन्छ। भुसालको जस्तो चरम अनुशासनहीन तथा अराजक गतिविधि कम्युनिस्ट पार्टीमा अहिलेसम्म कसैले गरेको मलाई थाहा छैन ।”
घनश्याम भुसालले एमाले छोडेपछि हिजो १० बुँदे गर्दा सँगै रहेका नेताहरूलाई आक्षेप लगाउँदै भनेका छन्, “१० बुँदे सहमति गर्ने १० भाइ मात्र थिएनौँ, देशभरका धेरै साथीहरू यसको पक्षमा थिए । ती मध्ये अधिकांशले त्यो स्पिरिट छाडे, अर्थात् नेतृत्वले जे भन्छ त्यो मान्दै गए अनि अवसर पाउँदै गए, अन्तिममा तारोमा भीमबहादुर रावल र म परेका हौँ, अहिले पनि हाम्रो पक्षमा बोल्नेहरू निशानामा छन् भित्तामा पुराइएका छन्।” यस्ता पात्रलाई वैचारिक नेता मानेर, आदर्श ठानेर पछि पछि लाग्ने हामी पनि दोषी हौँ। त्यसैले स्पष्ट भाषामा भन्नुपर्छ, “घनश्याम भुसालहरू प्रचण्डको हतियार र कम्फर्टेबल गठबन्धनका मतियार हुन् ।”
प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार ८ : १० बजे
प्रतिक्रिया