आरन चलाएर गुजारा

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । 

झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार ।

उहाँले आरनको काम गर्नुहुन्छ । उहाँले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँ घरबाट बिहानै आरनमा आउनुहुन्छ र बेलुका राति मात्रै घर फर्किनुहुन्छ । आरनमा उहाँलाई  काम गर्न भ्याई नभ्याई छ । यही पेसाबाट उहाँले छोरा–बुहारी, नातिनातिनासहित  १० जना परिवार पाल्नुभएको छ । “आरन चलाएर परिवार पालेको छुँ, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ”, उहाँ बताउनुहुन्छ, “घर खर्च पनि राम्रै चलेको छ ।”

उहाँलाई आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ । उहाँका  बुबा पनि आरनकै काम गर्नुहुन्थ्यो । सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिक्नुभयो, उहाँले । अहिले त्यही सीपको उपयोग गर्दै विष्णुले पनि आफ्नो परिवार सुखका साथ पालिरहनुभएको छ । विष्णुका बुबा विसं २०२४ मा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए । बचालमा आरन चलाउने उहाँहरूले तराई ९बनगाउँ० मा पनि त्यही काम थाले । बुबालाई आरनमा सघाउने उहाँले पहाडमै काम सिकिरहनुभएको थियो । तराईमा बुबासँग काम गर्दा उहाँ झनै काममा निपुण हुनुभयो । 

विष्णुले सानै उमेरमा बुबालाई गुमाउँदा परिवार पाल्ने जिम्मेवारी उहाँकै काँधमा आयो । त्यसका लागि उहाँले पनि आरनलाई नै निरन्तरता दिनुभयो । “अरू काम गर्नका लागि पढेको थिएन । कि त भारत नै जानु पर्थ्यो । तर म भारत गइनँ”, उहाँ भन्नुहुन्छ, “बुबाको कामलाई नै निरन्तरता दिए । काम गर्दै जाँदा कृषकहरूले पनि काम मन पराए ।” बुबासँग आरनमा लडिबडी खेल्दै सिकेको सीपले परिवारको घर खर्च जुटाउने स्रोत बन्यो । त्यसैले उहाँले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नु परेन ।  

उहाँसँगका साथीहरू कामका लागि अहिले पनि भारतमा छन् । उहाँ स्वदेशमा नै पौरख गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “भारतमा गएर मैले पनि १३ दिन काम गरेँ । तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन, त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छुँ ।” फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरुलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उहाँ बताउनुहुन्छ । भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इन्जिनियर बनेको हेर्ने चाहना छ, विष्णुको । 

आरनबाट हुने कमाइमा उहाँ सन्तुष्ट हुनुहुन्छ । “कहिले दिनमा एक÷दुई हजार । कहिले पाँच÷छ सय कमाई हुन्छ । कृषकहरूले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्”, उहाँ बताउनुहुन्छ । उहाँले छोराहरूलाई पनि रोजगारीमा लगाउनु भएको छ । एक छोराका लागि अटो किनिदिनुभएको छ भने अर्का छोरालाई खेतीपातीको काममा लगाउनु भएको छ । विष्णुले कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गर्नुहुन्छ । 

आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरू आउने गरेको उहाँ सुनाउनुहुन्छ । “टाढा टाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउनुहुन्छ”, उहाँ भन्नुहुन्छ, “आउने ग्राहकलाई खुसी बनाएका कारण ज्यालाभन्दा बढी पैसा दिएर जानुहुन्छ ।” काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उहाँको दाबी छ । जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उहाँको भनाइ छ । “धेरै काम आइरहेको छ । तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन ।” रासस

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ५७ बजे