‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आगामी सरकार पुनः एमालेको, अवसरवादीको होइन देशभक्त र स्वाभिमानहरूको

यस समयमा मुलुक अवसरवादीहरूको चङ्गुलमा फसेको छ । विदेशी चलखेल नराम्ररी सलबलाएको परिस्थिति छ । विभिन्न बहानामा देशलाई तहसनहस पार्न उद्यतहरूलाई कम्फर्ट हुने गरी बनाएको परमादेशी अदालती सरकारले जनहितका काम गर्ने कुनै सम्भावना नै छैन । विकासको गति अवरुद्ध पारिएको छ र राष्ट्रघाती कामहरू यो सरकारको पालामा धेरै हुने सम्भावना रहेका छन् । 

नवधनाढ्य जोगी र भोगीहरूको आवतजावत बढेको छ । उपभोक्ता समितिहरूमार्फत भइरहेका कामहरू सहरी विकाश मन्त्रालयका क्रान्तिकारी मन्त्रीको आदेशमा रोकिएको कुरा सर्वविदितै भएको विषय हो । योजना परेका उपभोक्ताहरू अब हाम्रो योजना के होला भनेर रनभुल्लमा परेका परै भएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अगाडि सारिएका सडक पुलका झन्डै एक हजार पाँच सयभन्दा बढी योजनाहरू कटौतीमा परेका छन् । सकेसम्म ओली सरकारले अगाडि सारेका जन पक्षीय योजनाहरू कटौती गर्ने, नसके लिंगरिङ्ग गरेर भए पनि काम सम्पन्न हुन नदिने रणनीतिमा सरकार उभिएको छ । 

देश नबनेर देश बनाउन ओली सरकार परिवर्तन गरिएको नभएर प्रभुहरूको स्वाभिमानमा चोट पुगेकोले नै योजनाबद्ध रूपमा केपी शर्मा ओलीको सरकार अरबौँको लगानीमा ढालिएको हो भन्ने विषयमा जनताको बिचमा कुनै पनि भ्रम रहेको छ भनेर शायदै भनिरहनु नपर्ला । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचको एकताले जनतामा उत्साह छाएको भए पनि पुष्पकमल दाहालको उद्देश्य त्यति बेला प्रष्टियो जब देशमा निर्वाचनपछि सबैभन्दा ठुलो दल नेकपा एमाले बन्यो त्यसपछि नै अवसरवादी दाहालको निद हराम भएको थियो । एकताका हिमायती मानिएका पुष्पकमल दाहालले भोट पाउन एमालेसँग मिलेर चुनाव लडे । जितेर जब संसद्मा तेस्रो दलको हैसियतमा पुगेपछि सरकार काँग्रेससँग मिलेर बनाउने खेल स्वाभिमानी एमाले कार्यकर्ताले भुलेका छैनन् । 

नेकपा एमालेका अध्यक्ष ओलीलाई सरकारमा जानबाट रोक्ने अथक प्रयासपछि नै सायद अध्यक्ष ओली आधा आधाको चङ्गुलमा फस्न पुग्नु भएको हो वा दुष्टको गलत नियतिलाई रोक्ने रणनीतिक रूपमा आलो पालोको प्रपञ्च रचिएको थियो । त्यस भनाइमा कति सत्यता थियो त्यो पनि जनसरोकारको विषय भएन ।  त्यो भोलि इतिहासले अनुसन्धानको विषय अवश्य पनि बनाउने नै छ । जब आलो पालोको पासो थापेपछि राजनीतिक अवसरवादीका धोकेबाज प्रचण्डले पार्टीमा तोकिएको कुनै पनि काममा सिन्को सम्म भाँच्ने काम पनि गरेनन् र अरूलाई काम गर्न पनि नदिएर साढे तिन वर्षसम्म बाधा पुर्‍याए । पार्टी एकतापछि तीन महिना भित्रमा गर्नुपर्ने कामका लागि कार्यदल बनेको भएता पनि त्यसले तीन वर्षसम्म एकताको औचित्य पुष्टि हुने गरी काम हुन नै दिएनन् । 

सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने र पार्टी सञ्चालनको जिम्मेदारी पाएका धूर्त प्रचण्डले एमालेको नमुना सङ्गठन र स्वाभिमानी कार्यकर्तामा उल्टै निराशा र कुण्ठा भरिदिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता प्रचण्डको कारणले नै असफल भएको तथ्य र प्रमाणहरूले पुष्टि गरिरहेका छन् । 

प्रचण्डको बहुरूपी नाटकबाट पार्टीमा काम गर्ने धेरै नेता कार्यकर्ताले पटक पटक धोका खाएका छन् । यस्तै व्यवहार भोगेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीको साथ नछोडेबाट नै प्रष्ट भएको छ । 

नेपालको राजनीतिक अभियानमा केपी ओलीको विकल्प वर्तमान समकक्षीहरूमा नभएको तथ्य धेरै घटनाहरूले पुष्टि गरिरहेका छन् । प्रचण्डको धोकाधडिबाट पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि राहतकै लागि साथ छोडेको होलान् भनी सहज अनुमान गर्न सकिन्छ । प्रचण्ड हल पिराहामात्र नभएर राष्ट्र पिराहा भएको कुरा जगजाहेर भएकै विषय हो । सशस्त्र युद्धबाट सुरु भएको राष्ट्रको अधोगति अझै रोकिएको छैन । सशस्त्र युद्धको ध्वंसकारी कार्य र १२ बुँदे नाटक प्रभुहरूकै लागि रचिएको क्लिप हो । 

एमाले सिद्ध्याउन कुदेका प्रचण्ड र माधवहरू अब आफै समाप्तिको डिलमा पुगेका छन् । नेकपा एमाले विधिसम्मत चलेको पार्टी हो । अघि अघि एमाले पछि पछि पञ्चदलहरु पनि दौडमा सामेल भएका छन् । कतिपय दललाई अधिवेशन औपचारिकता पुरा गरेर पनि सम्पन्न गर्नु पर्ने बाध्यता नेकपा एमालेको कारणले पनि बन्दै गएको छ । नेकपा एमालेको कारणले प्रचण्डको लागि पनि अधिवेशनको नाटक मञ्चन गर्नु बाध्यता आई लागेको छ । नेकपा एमालेले प्रथम विधान अधिवेशन ललितपुरको गोदावरीमा असौज १५–१७ मा शानदार रूपले सम्पन्न गरेर राजनीतिके हैसियत देखाइसकेको छ ।  एमालेको विधान अधिवेशनपछि काँग्रेसलाई पनि यो एजेन्डाले ध्यानाकर्षण गरेको छ । झुटको खेतीपातीमा तल्लीन प्रचण्डले नेकपा एमालेको भन्दा पनि धेरै पार्टी सदस्य नेकपा माओवादी केन्द्रसँग रहेको भन्ने फर्जी दलिलले देश दुनियाँलाई हँसाएको छ । प्रचण्ड पार्टीमा एमालेको भन्दा पनि धेरै आठ लाखभन्दा बढी पार्टी सदस्य भएको भए किन नेकपा माओवादी केन्द्र पाँच दलीय गठबन्धनमा हुरुक्क भएको होला ? पञ्च दलीय गठबन्धनका पार्टीहरूको सदस्य जोडेर भनेको हो की क्या हो भनेर जनता प्रश्न गर्दै छन् । परमादेशी हुँङ्काको ध्वाँसको अबका दिनमा कुनै तुक रहने छैन । एमालेले छोटो समयमा नै पार्टीको दशौँ महाधिवेशन सकेर निरन्तर सगरमाथा उन्मुख रहेको छ । 

एमालेले चितवन मङ्सिर १० को महायात्रा पछिको परिणाम देखाउन २०७९ मङ्सिर ४ कुरिरहेको छ । यसले के देखाउँछ भने नेपालका राजनीतिक दलहरूको गुरु पार्टी हो एमाले । एमाले अघि अघि अन्य दलहरू पछि पछि रहेका छन् भन्ने कुरा एमालेको गतिविधि र क्रियाशीलताले देखाइरहेको छ । 

नेकपा एमाले बिना अवरोध राजनीतिक गतिविधिमा सफलताका साथ अघि बढिरहेको देखिन्छ । आगामी निर्वाचनको पूर्ण तयारीमा एकलै बहुमत ल्याउने गरी काम गरिरहेको छ । नेकपा एमालेका नेता कार्यकर्ताले अझै भारी मत ल्याएर बलियो सरकार बनाउनका लागि आन्तरिक कमीकमजोरी के के छन् भनेर नेता कार्यकर्ताको बिचमा, जनताको बिचमा घनिभूत संवाद  गर्न जरुरी छ भने नेकपा एमाले मात्रै त्यस्तो पार्टी हो यसले चाहेमा भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आफूलाई अझै सफा र सुन्दर बनाउन सक्ने क्षमता राख्दछ । नेकपा एमाले गरिखानेहरूको पार्टी हो । जनताको भावना जित्ने गरी पार्टी जनताको बिचमा पुग्नु जरुरी छ । नेता र जनताको बिचमा देखिने सबै खाले अन्तर विरोधलाई सही तरिकाले समाधान गर्न सके पार्टी अध्यक्षले देखेको सपना आगामी निर्वाचनमा जनताले पुरा गरिदिनेछन् । तर नेतृत्वले पार्टी भित्रका दलाल र बिचौलियालाई चिनेर योग्यलाई मात्र निर्वाचनमा उम्मेदवार बनाउनुपर्दछ । विचार कर्मशीलता बोकेका अनुशासित कार्यकर्ताको नेता र नेतृत्वको अगुवाइमा पार्टीको विकास गर्ने हो की ? प्लेट र बोतलका भरमा जम्मा गरेका फेसबुके नेता कार्यकर्ताको भरमा आगामी निर्वाचनमा विजय खोज्ने हो त्यो चैँ नेतृत्वको कार्यकुशलतामा भर पर्नेछ । 

अहिले प्रत्येक युवाको मुखमा झुन्डिएको नारा हो “हाम्रो मत ओलीलाई, आजका लागि होइन भोलिलाई” राजनीतिक रूपमा यो नाराको गरिमा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा स्वाभिमानका साथ नेपालको संविधान २०७२ जारी गर्न सम्भव भएको हो भन्ने कुरा दिनको घाम जस्तै छर्लङ्ग रहेको छ । 

सुगौली सम्धीले समेत स्वीकार गरेको नेपालको पश्चिम सिमाना कालापानी लिपुलेक र लिम्पियाधुरामा लामो समयदेखि भारतले अतिक्रमण गर्दै नक्साबाट नै गायब गर्ने कामलाई ओली नेतृत्वको सरकारले संविधान संशोधन गरेर देशको नक्सामा पुनः गाभ्न सफल हुनु देशभक्तहरूको लागि निकै खुसीको खबर हो । अब समयमा त्यो कार्यान्वयनमा आउने नै छ । देश विकासमा योगदान पुर्‍याउन नेकपा एमालेको विकल्प छैन भन्ने कुरा देशले आत्मसाथ गरिसकेको छ । विकास र रोजगारी एमालेको प्राथमिकताको विषय बनेको छ । एमालेको सरकारले नै विकासमा आफ्नो कार्यकालमा कायापलटनै भएको मान्नुपर्दछ । तर पनि यो अझै पर्याप्त होइन, पार्टीभित्र प्रशस्त नेतादेखि  कार्यकर्तासम्म शुद्धीकरणको आवश्यकता रहेको छ । वर्तमान विकासको मोडेलबाट देश आमूल परिवर्तन हुने गरी बन्दैन । देश अलि अलि बने पनि व्यक्तिहरू धेरै बन्नेछन् । देश बनाउने मोडल बदल्नुपर्दछ । देश बनाउन हामीले हाम्रै मोडेलको ब्राण्ड विकास गर्नु जरुरी छ । 

यति हुँदाहुँदै पनि नेकपा एमालेको सरकारको पालामा जति अरू कुनै पनि सरकारको पालामा विकास निर्माणका कामहरू नभएको तथ्यहरू आफै बोलिरहेछन् । जसले यो कुरा हावादारी सम्झन्छन् भने जो यसमा असहमत छन् तिनले आफ्नै गाउँघरको विकास निर्माणको अध्ययन गरे आफै तथ्य बोल्नेछ । नेकपा एमालेको सरकार बन्नु अगाडि २०५१ सालको अल्पमतको सरकार र त्योपछि बनेका एमाले सरकारहरूले देशको लागि कुनै न कुनै नयाँ र नौलो आयाम थप्ने काम भएका छन् भने २०७४ सालमा बनेको ओली नेतृत्वको सरकारले आमूल परिवर्तनको रेखाङ्कन गरिसकेको छ । जति सुकै विरोध गरे पनि देशको समृद्धिको सपना देख्ने नेता केपी शर्मा ओली नै हुन् । 

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र उहाँको नेतृत्वको सरकारले देखेको जस्ता सपना अन्य पार्टीहरूले पटक पटक अवसर पाएका समयमा न काँग्रेसले देखाउन सक्यो न त अन्य दलहरूले नै । प्रचण्ड पथ त  एमालेभन्दा चिन्तन र व्यवहारमा सय वर्ष पछि छ । उनै केपी ओली कै कारणले अब आगामी दिनमा कहिल्यै पनि देशले भारतीय नाकाबन्दीको सामना गर्नुपर्ने छैन । ल्याण्ड लक भनेर चिनिने नेपाल ल्याण्ड लिङ्कमा परिणत भएको छ । यो देशको लागि ठुलो जित हो । नागरिकको सम्मान र अधिकारको सम्बोधनमा पनि नेकपा एमालेको तुलनामा अन्य दलहरू धेरै नै पछाडि रहेको छन् । 

भ्रष्टाचारका घटनामा पनि एमाले अन्य दलहरूभन्दा सचेत रहेको छ । हो एमालेमा  पनि कमीकमजोरीले प्रवेश पाउन थालेको छ, जसको उपचार समयमै हुनु आवश्यक रहेको छ । जहाँ कमीकमजोरी रहेका छन् ती भोलिका दिनमा समयले आफै करेक्सन गरेर ल्याउँछ । साधा जीवन र उच्च विचार भएको कार्यकर्ताको निकै ठुलो पंङ्गित एमालेसँगै रहेको छ । 

आज नेपालका राजनीतिक दलहरूमा एमाले तिरको क्रेज सत्तामा रहँदा होस् वा सत्ता बाहिर रहँदा पनि ओलीको कारणले पनि नेकपा एमाले राजनीतिक रूपमा अबल देखिएको छ । एमालेलाई षडयन्त्र पूर्वक सत्ता च्युत गरे पछिका राजनीतिक घटनाहरूको अध्ययनले के बताइरहेको छ भने आगामी निर्वाचनमा पनि देशको ठुलो पार्टी मात्रै होइन सानदार बहुमतको सरकार बनाउने पार्टी नेकपा एमाले मात्रै रहेको देखिन्छ, जहाँ एकलै ९५ प्रतिशत सिटमा उम्मेदवार दिने पार्टी नेपालमा एमाले मात्र देखियो । अहिले दर्शन सिद्धान्त कर्म र व्यवहार केही पनि नमिल्ने काँग्रेस र माओवादीको आगामी चुनाव सम्मको पाँच दलीय एकता सिद्धान्त हीन एकता हो । यो एकता परिवर्तन र विकास विरोधी एकता हो ।  देशको उन्नति रोक्ने आत्मघाती षडयन्त्र बाहेक केही पनि होइन । पार्टीको नाम जे राखे पनि यस बेला नेपालमा देशभक्त स्वाभिमानीहरूको राज्य सत्ताको आवश्यकता रहेको छ । 

भ्रष्टाचार विरोधीहरूको र देशको विकास गरेर जनतालाई समृद्धिको लागि काम गर्ने सरकार नेपाली जनताले चाहेका छन् । जो त्यस्तो सरकार दिन सक्ने नेतृत्व नेकपा एमालेसँग मात्रै बलियो रूपमा रहेको छ । आगामी निर्वाचनमा नेकपा एमालेलाई सबै दलका देशभक्त र स्वाभिमानहरूको साथ चाहिएको छ । आज एमालेलाई हाल्ने भोट केवल औपचारिकता नभएर देशको भविष्यसँग गाँसिएकोले नै युवाले हाम्रो भोट ओलीलाई आजलाई होइन भोलिलाई भनेका हुन् । नेकपा एमालेको दसौँ महाधिवेशनपछि देशमा राजनीतिक कोर्सले कोल्टे फेरेको छ । आगामी सरकार पुनः एमालेको, अवसरवादीको होइन देशभक्त र स्वाभिमानहरूको ।  

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : २७ बजे