‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा । भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा !’ नेपाली साहित्यका कविशिरोमणि लेखनाथ पौड्यालले दसैँको आगमनमा लेख्नुभएको कविताको यी पङ्क्तिले दसैँ बुझ्न सहयोग गर्दछन् । यसमा हिलो मैलो हटेको, वर्षा सकिएको, भवानीको पूजा हुने र आनन्दको चर्चा चल्ने विषय छ । दसैँबारे विभिन्न मत विचार होलान्, तर कविशिरोमणिले यसरी लेख्नुभएको छ ।
असोज महिनाको शुक्प पक्ष अर्थात् उज्यालो पक्षसँगै दसैँ प्रारम्भ हुन्छ । आजदेखि सुरु हुने दशमीको दिनसम्मलाई नवरात्र वा नवरात्रि भनिन्छ । अझ खासमा यसलाई शास्त्रीय भाषामा ‘शारदीय नवरात्र’ भनिन्छ ।
हाम्रो नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त छ । यहाँ कतिपय पर्वहरू भूगोल विशेषका छन्, कतिपय जाति, धर्म, संस्कृति आदि विशेषताका छन् । खास भौगोलिक—प्राकृतिक विशेषता र त्यसमा तिथि, ग्रह, नक्षत्र आदिको योगले अझ विशिष्टता थपिदिएका पर्वहरू छन् । भिन्नाभिन्नै परम्परागत मान्यताका कारणले पनि हाम्रा चाडपर्वहरूमा विविधता रहेको पाइन्छ । तर, ती सबै पर्वहरूमध्ये दसैँ सबभन्दा धेरै नेपालीहरूले मनाउने र सहभागी हुने साझा पर्व हो । वर्षायामको खेतीपाती लगाउने काम सकिएको, वर्षाजन्य हिलोमैलो झरी बादल हटेको, शरद ऋतुको सफा र उज्यालो वातावरण त्यसमाथि शुक्ल पक्ष ! हरेक हिसाबले दसैँ महत्त्वपूर्ण छ र यसलाई महान् भनिएको छ, ठुलो वा बडा भनिएको छ । आजदेखि त्यही महान् चाड बडादसैँ सुरु भएको छ ।
घर घरमा पञ्चतत्व, पञ्चमहाभूत, पञ्च कर्मेन्द्रिय, पञ्च ज्ञानेन्द्रिय, पञ्च तन्मात्रा, पञ्चकृष्ट, पञ्चअमृतका प्रतीक पञ्चदेव(गणेश, देवी, विष्णु, शिव र सूर्य)को स्मरण तथा पूजासहित अनेकौँ तीर्थका जलको तथा पूर्णताको प्रतीक घट स्थापना गरी नौ वटी देवीहरू (महामाताहरू)को श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरिन्छ । शारीरिक स्वास्थ्यका लागि सबै प्रकारको सुरक्षाको कामना गर्दै न्यास, मानसिक स्वास्थ्य तथा पुर्खा—विशेषतः मातृ पुर्खाका पौरखको स्मरण गर्न ध्यान, कृषि तथा औषधि उत्पादनको प्रतीकका रूपमा यवाङ्कुर(जौ उमार्ने—जमरा राख्ने) काम गरिन्छ ।
शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदातृ गरी नौ वटी देवीहरू नै नवदुर्गा हुन् । नवदुर्गाको कथा प्रसङ्ग सन्तानका लागि माताहरूले गर्ने—गरेका पौरखका कथा हुन् । नवदुर्गाका रूपमा उल्लेख गरिएका यी माताहरूका हरेक नामको विशेष अर्थ छ । नव भनेको नौको सङ्ख्या हो । ‘नव’ भनेको नयाँ पनि हो । नौको सङ्ख्याले नवरत्न—नौ प्रकारका बहुमूल्य रत्न जनाउँदछ भने शृङ्गार, वीर, करुण, अद्भुत, हास्य, भयानक, बीभत्स, रौद्र र शान्त नौ भावरसहरूको समग्रता जनाउँछ ।
यति धेरै विषयको सार संक्षेप नै ‘नवदुर्गा’ हो । दुर्ग शब्दको अर्थ किल्ला हो । यो युद्धसँग सम्बन्धित विषय हो । सन्तानको सुख र सुरक्षाका लागि मातृ शक्तिको भूमिकाको स्मरणसाथ गरिने उच्च सम्मान नै दुर्गा पूजा हो ।
तर, शास्त्रीय सन्दर्भ तथा यिनीहरूका सारभूत प्रावधानहरू बारेको अज्ञान र बेवास्ताका कारण अहिले दसैँ सारहीन बन्दै गइरहेको छ । मानिसहरू आफू सम्मानित हुन प्रतिस्पर्धा गरिरहेका छन्, तर पुर्खा—मातृ पुर्खाहरूप्रति गरिने स्मरण र सम्मानलाई अज्ञान तथा अन्धविश्वासका रूपमा चित्रित गर्दैछन् । कुनै पनि काम—कुरा जानेर गरे विज्ञान र नजानेर गर्दा अज्ञान र अन्धविश्वास हुन्छ भनेर बुझ्न आवश्यक छ ।
नेपाली समाजमा दसैँ भेटघाट, मेलमिलाप, घर—परिवारका ठुलाबडाहरूलाई सम्मान गर्ने र उहाँहरूका जीवनबारे बुझ्ने, महत्त्व दिने र उहाँहरूबाट आशीर्वाद—शुभकामना—प्रेरणा प्राप्त गर्ने महत्त्वपूर्ण अवसर हो । यो अवसर परिवारका आफूभन्दा सानाहरूलाई आशीर्वादका रूपमा आफ्ना कामहरूबाट उत्प्रेरित गर्ने अवसर हो र यो नियमित कर्तव्यको स्मरण पनि हो ।
यात्रा तथा खानपानमा विशेष ख्याल राख्नु, खाद्यान्नको दुरुपयोग रोक्नु, देशको अर्थतन्त्र र आफ्नो आर्थिक हैसियतको ख्याल गरेर खर्च गर्नु, आफ्नो समाज—समुदायका कमजोर वर्गका मानिसहरूलाई हीनताबोध हुने गरी देखावटी नगर्नु, सबैलाई नराम्रो हुने, अन्धविश्वास बढ्ने गरी र पछि आफैलाई पछुतो हुने गरी तडक भडक नगर्नु आदि दसैँमा ध्यान दिनै पर्ने पक्ष हुन् । समग्रमा दसैँ प्रकृति, प्रवृत्ति र संस्कृतिका लागि महत्त्वपूर्ण पर्व हो ।
नवदुर्गाको पूजामा पाठ गरिने दुर्गासप्तशतीको पाठको सुरुमा पढिने दुर्गाकवच (देव्याकवचम्) मा लेखिएको छ, ‘यं यं चिन्तयते कामम्, तं तं प्राप्नोति निश्चितम्’ अर्थात् मानिसले जे जस्तो चिन्तन, परिकल्पना र कामना गर्दछ, त्यही त्यही नै प्राप्त गर्दछ । यस अवसरमा सबैले सार्थक सोच, चिन्तन र व्यवहारमा ध्यान दिऔँ ।
बडा दसैँ २०७९ सबै नेपालीका लागि राम्रो रहोस्, आगामी वर्षका लागि स्मरणयोग्य रहोस्, अन्धविश्वास र आपसी वैमनष्य नरहोस् ! सबैप्रति सबैमा सकारात्मक सोच, सद्भाव, समानता र सम्मानको भावना विकास होस् ! हार्दिक मङ्गलमय शुभकामना !!
प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १० : ०३ बजे
प्रतिक्रिया