सडक यातायात क्रमशः सहजतातर्फ

नेपाल राष्ट्र बैङ्कले १२ अर्बको ट्रेजरी बिल जारी गर्दै

​​​​​​​काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  राष्ट्र बैङ्कले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 

मङ्गलवार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

केन्द्रीय बैङ्कले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष)स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैङ्क कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : २७ बजे