लथालिङ्ग घरको भताभुङ्ग चाला ! नेपाल यति बेला यस्तै छ र यस्तै बनाइराख्ने प्रयास पनि भइरहेको देखिन्छ । नेपालमा स्थिरता र विकास नचाहने शक्ति अस्थिरतालाई मलजल गर्न कटिबद्ध छन् । नेपालमा स्थिरता र विकास हुँदा परनिर्भरता र पराश्रितता कम हुन्छ । पराश्रितता र परनिर्भरता शक्ति क्षीणताका कारण हुने गर्दछ । शक्तिहीनता वा क्षीणता हुँदा मनोबल, निर्णायक क्षमता र स्वाभिमान घट्छ । मनोबल नभएको, क्षमताहीन र हीनताग्रस्त मनोविज्ञानमाथि उभिएर नै यसलाई अझ कमजोर बनाउन र यसमाथि दादागिरी देखाउन सकिन्छ भन्ने बुझेका शक्तिहरू जे जस्तोसुकै गर्न सक्दछन् । राष्ट्रलाई कमजोर बनाउन केही मानिसलाई धनी बनाउन सक्दछन्, आपसमा तानातानको अवस्था सिर्जना गर्न चाहन्छन् र आफू निर्णायक बनिरहन चाहन्छन् । आज नेपालले यस्तै अवस्था भोग्नु परिरहेको छ ।
नेपालको शक्तिको स्रोत नेपाली नै हो । नेपाली जनतालाई शक्तिको स्रोत मानेर निर्माण गरिएको संविधान हामीसँग छ । संविधानले जातीय, भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतामा एकतालाई स्वीकार गरेर मार्गदर्शन गरेको छ । नेपाललाई समाजवाद उन्मुख भनेको छ र समाजवाद निर्माणका लागि सबैलाई आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक अभ्यासको माध्यमबाट अवसरमा पहुँच र अधिकार स्थापित गरेको छ । सबैलाई राजनीति गर्ने, राजनीतिक दल निर्माण गर्ने, वैचारिक प्रतिस्पर्धा गर्ने अधिकार छ । तर, केही राजनीतिक दलहरू यस्तो स्वतन्त्रताको सिद्धान्तको बर्खिलाप गठबन्धनदेखि गठबन्धनसम्म रुमल्लिइरहेका छन् । यसमा सिङ्गो राष्ट्रलाई रुमलिराख्ने प्रयत्न गरिरहेका छन् ।
यो गठबन्धन ‘जुन गोरुको सिङ छैन, उसैको नाम तिखे’ भनेजस्तो भएको छ । गठ भनेको गाँठो हो, बन्धन भनेको बलियो गरी बाँधिनु हो । तर, अहिले हाम्रो देशको राजनीतिमा देखिएको गठबन्धन बलियो गरी बाँधिएको गाँठो भएको छ त ? गठबन्धनको नाममा भागबन्डाको तानातानी छ । सैद्धान्तिक, वैचारिक, नैतिक हिसाबले राष्ट्रलाई बलियो बनाउनका लागि गरिनुपर्ने गठबन्धन ठ्याक्कै उल्टो अभ्यासमा छ ।
यो गठबन्धनले सबैभन्दा पहिले दलीय पद्धतिमाथि आघात पुर्यायो । त्यसपछि राजनीतिक विषयलाई अदालतमा छिरायो र न्यायपालिकाको दुरुपयोग गर्यो । संसद्बाट बन्न बनाउन पर्ने कार्यपालिका अदालतको परमादेशबाट बनाइयो । कार्यपालिकामा न्यायपालिकाका तत्काल बहालवाला मुख्य व्यक्तिको आफन्तलाई घुसाइयो । अनि केही दिनमै राजीनामा गराइयो । यसरी कार्यपालिकाको शक्ति र शक्तिको आधार खलबल्याइयो । व्यवस्थापिका संसद्ले आफ्नो स्वत्व र हैसियत त गुमायो नै दलले कारबाही गरेका सदस्यहरूलाई सूचना टाँसेर हटाउनु पर्नेमा उनीहरूलाई निरन्तरता दिइरह्यो र थोरै मात्र बाँकी विश्वसनीयता पनि गुमायो । यो सबै गठबन्धनका लागि गठबन्धनका नाममा भयो । तर, यसको बन्धन भने खुस्केको खुस्कियै छ । दिनरात राज्यको ढुकुटीबाट चियाचमेना ज्युनार गर्दै बालुवाटारमा गठबन्धनका बैठकका बैठक चलिरहेका छन् ।
हो, खास राजनीतिक अवस्थामा मुलुकका अनेकौँ समस्याहरूको समाधान गरी स्थायित्व दिन राजनीतिक शक्तिहरूका बिचमा तालमेल, सहकार्य, समन्वय, गठबन्धन हुन सक्दछ, हुनु पनि पर्दछ, तर के यो मौजुदा गठबन्धनबाट मुलुकले त्यस्तो केही उपलब्धि प्राप्त गरेको छ ? उनीहरूका व्यवहारबाट त्यस्तो केही हुन सक्ने सम्भावना देखिन्छ ? यी यक्ष प्रश्न हामी नेपालीका बिचमा टड्कारो गरी उभिएको छ ।
यो गठबन्धन बनेर सत्तामा कब्जा जमाएपछि टाट पल्टिँदै गरेको मुलुकको अर्थतन्त्रमा सुधारको कुनै प्रयास भएको छैन । व्यापार घाटा कौडी कम गर्न सकेको छैन । न्याय क्षेत्रमा देखिएको समस्या घटाउने त कुरै छोडौँ दुनियाँ हँसाउने व्यवहार भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयान, प्रतिनिधि सभाको कार्यकाल नसकिँदै बयानको टुङ्गो लगाउन नसक्नु, महाभियोग पुष्टि गर्ने संस्था नरहँदा मुद्दाको अवस्था के हुने भन्ने निर्क्योल गर्न नसकेको र यता न उता बनाएर प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने अवस्था देखिएकै छ । के यो गठबन्धन अस्तव्यस्ताका लागि हो भन्ने पुष्टि हुन बाँकी छ र ? छैन ।
लोकतन्त्रको महोत्सव मानिने निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना विचार, दृष्टिकोणमा आधारित योजनासहितको घोषणापत्र जारी गरेर जनतामा जानुपर्ने समयमा सिट सङ्ख्या बाँडफाँटमा अल्झिएको गठबन्धनले — यसमा सहभागी दलहरूले मुलुकलाई राजनीतिक स्थिरता दिन सक्छन् ? चुनावको मुखमा प्रधानमन्त्री, अर्थमन्त्री समेत प्रभावशाली नेताका चुनाव क्षेत्रमा प्रचलित ऐन कानुन विपरीत रकम बाँड्ने नेतृत्वले अर्थतन्त्र उकास्ला ?
यति हुँदा पनि गठबन्धनको राजनीतिलाई नेतृत्वकारी शक्तिको रूपमा स्वीकार गर्नु त के कल्पनासम्म गर्नु पनि मुलुकको हितमा छैन ।
भागबन्डाबाट माथि उठ्न नसकेर छताछुल्ल, भताभुङ्ग भएर तानातानीमा रहेकाहरूले आफूलाई प्रयोग गर्ने गरेको गठबन्धन शब्दको अर्थसम्म नबुझेका राजनीतिक समूहहरूलाई विश्वास गर्नु आफैप्रतिको विश्वासघात हुने स्पष्ट छ । नाम गठबन्धन राखेको भए पनि कामले त्यस्तो देखाउन सकेको छैन । बरु, जुन गोरुको सिङ छैन, उसैको नाम तिखे भनेजस्तो देखिन्छ ।
प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार १० : २४ बजे
प्रतिक्रिया