‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रचण्ड-बाबुरामको ‘नयाँ जनयुद्ध’: खुट्टी हेर्दै चाल पाइयो !

नेपाली काँग्रेसको सहयोगी पार्टीजस्तो बन्न अभिसप्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बाबुराम भट्टराई र उनी मिलेर नयाँ जनयुद्ध सुरु गर्ने बताएका छन् । निराश कार्यकर्ता पङ्क्तिलाई आशको सञ्चार भर्न उनले यसो भनेका हुन सक्छन् । कुनै बेला संसदीय राजनीतिलाई दुत्कारेर माओले चीनमा धेरै वर्षअघि भिन्न परिस्थितिमा अङ्गीकार गरेको सत्ता कब्जाको दीर्घकालीन जनयुद्धको बाटो हिँडेको माओवादी शक्ति  बहुदलीय संसदीय व्यवस्थाको सहयात्री बन्न तयार  भएको पनि डेढ दशक भएको छ ।  आफूलाई “चुच्चे ढुङ्गो उही टुङ्गो” मा पुर्‍याउन सफल भएकोमा प्रसन्नता प्रचण्ड अझै व्यक्त गरिरहेछन् ।

माओवादी नेतृत्व आफै पनि आफ्ना पार्टीको नेतृत्वमा भएको जनयुद्ध , १२ बुँदे सहमति पश्चात् भएको जनआन्दोलन र प्रथम संविधानसभामा उसले प्राप्त गरेको सफलताको गीत गाउन व्यस्त रहेको देखिन्छ । नयाँ केही नगर्ने, पुरानो गीतले मात्र कुनै राजनीतिक पार्टी बच्न सक्दैन ।

माओवादी पार्टीको उदय जुन चमत्कारिक हिसाबले भएको थियो त्यसको गिरावट पनि आश्चर्य जनक ढङ्गले भइरहेको छ । पार्टीको पटक पटकको विभाजन, व्यक्तिहरूको पलायन र एजेन्डाविहीन मोडमा उभिइरहनुपर्ने परिस्थितिले माओवादीको प्रभावलाई दिनानुदिन खियाउँदै लगिरहेको प्रस्ट रूपमा देख्न सकिन्छ । अझ सत्ताको लागि जसलाई पनि ‘बेड पार्टनर’ बनाउने प्रचण्डको नीतिले माओवादी केन्द्र लिलिपुट बन्ने दिशामा लागेको छ ।

प्रचण्ड-बाबुरामलाई प्रथम संविधानसभामा प्राप्त गरेको सिटले यति धेरै हौस्यायो कि जनतातिर फर्कने कार्यशैली सबै नेता कार्यकर्ताले अवलम्बन गर्नै बिर्से।

उसले भन्ने गरेको  माओवादको भारी मात्र बोकेर संसदीय चुनावमा जाँदा  आगामी दिनमा कुनै उपलब्धि हात लाग्ने देखिन्न । मार्क्सवादका सार्वभौमिक सच्चाइहरू सर्वस्वीकृत भए पनि आफ्नो समयका राजनीतिक नेता माओका भाषणहरू सुनाएर जनताको मन जित्न सक्ने अवस्था अब विद्यमान छैन ।  नेपालको धरातलीय यथार्थको आधारमा विचारहरू संश्लेषित हुनु आवश्यक छ । धुलोबाट किताब झिकेर सोही किताबको आधारमा विचार निर्माण गर्ने अवस्था अब रहेन ।

एक्काइसौँ शताब्दीको पूर्वाद्धमा भएको विज्ञान र प्रविधिको भीमकाय विकासले उनीहरूको राजनीतिक प्रभावलाई इतिहासको एउटा कुनामा थन्क्याइदिएको छ । संसदीय राजनीतिमा हरेक पार्टी र नेताले जनअदालतमा आवधिक रूपमा टेस्टेड हुनुपर्ने भएकोले आफ्नो बारेमा आफैँले गरेको बखानभन्दा जनताले गरेको फैसला महत्त्वपूर्ण हुने नै भयो । बलपूर्वक सत्ता कब्जा गर्न जन्मेको माओवादीलाई सर्वसाधारण जनताको आवधिक अनुमोदन घाँडो बन्दै गएको छ । एक्लै लड्दा पत्तासाफ हुने भएपछि हरेक चुनावमा भोटको ऐँचो पैँचो गर्नुपर्ने बाध्यतामा पुगेको छ माओवादी ।

१० वर्षे जनयुद्ध सञ्चालन अवधिभर तत्कालीन माओवादी पार्टी पूरापूर सैनिक पार्टीको रूपमा रह्यो ।  राजनीतिक वैचारिक कामहरूभन्दा पनि हतियारलाई परिवर्तनको मुख्य साधन मानियो ।  यसो भन्न सकिन्छ, माओवादी जनयुद्ध अवधिभर हतियारलाई नै अन्तिम सत्यको रूपमा बुझियो र सोही अनुरूपको व्यवहार गरियो । भन्न परोइन , एउटा सैनिक पार्टीभित्र फरक मतहरूलाई भौतिक वा मानसिक रूपमा निषेध गर्नुको विकल्प थिएन र विभिन्न समयमा त्यसै गरियो पनि । जनवादको अभ्यास गरिएन र सो अवधिभर पार्टी पुरै केन्द्रीयताको वास्तविक अभ्यासमा बित्यो ।

पार्टी शान्ति प्रक्रियामा आएपछि नीति, सिद्धान्त र कार्यनीतिमा कुनै संशोधन गरिएन । त्यही सैनिक पार्टीलाई निरन्तरता दिने प्रयत्न मात्र गरियो । बरु, सैनिक पार्टी संरचनाका अभ्यासको पट्यार लाग्दो प्रवचन मात्र सुनाइयो । प्रचण्ड-बाबुरामलाई प्रथम संविधानसभामा प्राप्त गरेको सिटले यति धेरै हौस्यायो कि जनतातिर फर्कने कार्यशैली सबै नेता कार्यकर्ताले अवलम्बन गर्नै बिर्से । युद्धकालीन अवस्थामा हतियारको प्रभावले उठेको अकूत चन्दा र शान्ति प्रक्रिया पश्चात् इच्छापूर्वक दिइएको चन्दाले  अधिकांश नेता कार्यकर्ताको रहन सहन, बानी ब्यहोरा र इमानदारीमा समेत कायापलट ल्याइदियो ।

१० वर्षसम्म हतियारलाई अन्तिम सत्यको रूपमा बुझेको पार्टीमा शान्ति प्रक्रियामा आएपछि शक्तिको स्रोत केवल पैसा मात्र हो भन्ने अवधारणा सर्वत्र फैलियो । आफ्नो गुट मजबुत बनाउन समेत नेताहरूले रकमको उपयोग गर्ने गलत परिपाटीको समेत सुरुवात भयो । पार्टीले आफ्नो जीवनको सम्पूर्ण व्यवस्थापन गर्छ भन्दै आश्वस्त पारिएका लडाकुहरूलाई घर त फर्काइयो तर उनीहरूलाई आत्मनिर्भर बन्नुको सट्टा नेताहरूले बेलाबखत दिने रकमको आसे कार्यकर्ताको रूपमा व्यवहार गर्न थालियो । पार्टीका कुनै साङ्गठनिक गतिविधि वा अभियान सञ्चालन गर्नु पूर्व “परिचालन खर्च” माग्ने र दिने परिपाटीलाई संस्थागत गरियो । कार्यकर्तामा नेतासँग अथाह पैसा हुन्छ भन्ने अवधारणाको विकास हुन पुग्यो । सोचे जति पैसा दिन नसक्ने नेता कार्यकर्ताको नजरमा “नेता” रहेन ।

माओवादीभित्र देखिएको व्यापक असन्तुष्टि विचार र सङ्गठनमा भन्दा पैसामा केन्द्रित बन्न थाल्यो। माओवादीमा आर्थिक विषय सम्बन्धित तहका नेताको तजबिजको विषय बन्दै आयो, जसलाई पारदर्शी र संस्थागत नगरी पार्टी नेतृत्वप्रति कार्यकर्ता र जनताको विश्वास जाग्ने सम्भावना थिएन । यसो भनिन्छ – माओवादी विभाजनमा विचारभन्दा ‘जनयुद्ध’ अवधि र शान्ति प्रक्रियापछि प्रचण्डको नियन्त्रणमा रहेको अकुत स्रोत र साधन मुख्य थियो ।

पटक-पटक निर्वाचनमा भाग लिएको पार्टीभित्र निर्वाचनको वास्तविक अधिकार नेता कार्यकर्तालाई दिन नसक्दा कार्यकर्ता अनुमोदित नेता बन्नुको सट्टा कुनै अमुक नेताको विश्वास पात्र बन्ने होडबाजी गर्ने माओवादी आम कार्यशैली हो । आम कार्यकर्ताबीच जतिसुकै लोकप्रिय भए पनि उसले कुनै जिम्मेवारी पाउन उपल्लो नेता अगाडि निरीह भेडाको  पाठोसरह उभिनु पर्ने बाध्यता कायम छ । 

जनताको महान् बलिदानपश्चात्  प्राप्त लोकतान्त्रिक व्यवस्थामा नेता कार्यकर्ता र जनताको आम हैसीयत बराबरी हुन्छ भन्ने धारणा प्रबल भइरहेको अवस्थामा  आम कार्यकर्ताले तिरस्कार गरेको कुनै व्यक्ति पनि नेता रिझाएमा कुनै तहको नेता बनिरहने हालसम्मको साङ्गठनिक व्यवस्थापन नै माओवादीको सबभन्दा ठुलो समस्याको रूपमा देखिन्छ । वर्षौँदेखिका अन्तर्विरोधहरू व्यवस्थापन नगर्ने, विगतको निषेधकारी कार्यशैलीको अवलम्बन गरेर फरक मत राख्ने नेता कार्यकर्ताहरूको राजनीतिक भविष्य समेत सखाप पार्ने कार्यले त झन् पार्टीको अस्तित्व सङ्कटग्रस्त बनाउँदै लगेको छ । 

आन्तरिक जनवादको सही अभ्यास नगर्ने  यस्ता असन्तुष्टिहरू सदैव रहिरहने माओवादीमा एकले अर्कोलाई निषेध गर्दै जाने अवस्थामा पार्टी नै जनताबाट निषेध हुन बेर लाग्दैन । घाम जस्तै छर्लङ्ग छ, कार्यकर्ताबाट अनुमोदित नभएको नेतृत्व जनअनुमोदित हुन सक्दैन ।त्यस्तो नेतृत्वले संसदीय चुनावमा किमार्थ सफलता हासिल गर्न सक्दैन । हिजो कुनै कमान्डरको जस्तोसुकै आदेश घोडा दौडेजस्तो दौडन्थ्यो तर  आज जनता र कार्यकर्ताको इच्छा विपरीत गरिएका त्यस्ता फर्मानहरू एक पाइला पनि अघि हिँड्न सक्दैनन् । जनता सार्वभौम भएको देशमा पार्टी कार्यकर्ता पनि स्वतः सार्वभौम हुन्छन् । सो हुन नसकेमा पार्टी नै सङ्कटमा पर्दछ । माओवादीमा भएको यही हो । 

माओवादबाट आफूलाई अलग राख्न, लोकतन्त्र खोज्न, समाजवाद खोज्न माओवादी पार्टी छोडेका बाबुराम अहिले स्थानीय निर्वाचनमा गोरखामा माओवादीले आफ्नो क्षेत्रमा समेत पकड जमाएकोले उसको चुनाव-चिन्ह नलिई जित्न कठिन हुने भएकोले गोलाकार भित्रको हँसिया हतौडामा चुनाव लड्न तयार भएको घटनालाई ठुलै उपलब्धि मानेका छन् । अनिकालको पाङ्दुर !

इजिप्टमा चलेको कहावत अनुसार फिनिक्स नामको चरो पाँच सय वर्ष सम्म जीवित रहन्छ र त्यो आफैँ खरानी हुन्छ । पुनः त्यही खरानीबाट अर्को त्यस्तै चरोको जन्म हुन्छ । माओवादी पार्टीको परम्परागत, वैचारिक र साङ्गठनिक जीवन करिब समाप्त भएको छ । त्यसबाट फेरि त्यो पार्टीले फिनिक्स चरो झैँ पुनर्जीवन प्राप्त गर्न नसक्ने र केवल इतिहास मात्र बनेर रहने प्रस्ट सङ्केत देखापरेको छ ।

प्रचण्ड, बाबुराम वा माओवादी पृष्ठभूमिका बहिर्गमित जो कोही नेताले स्वार्थवश गाला जोडे पनि प्रचण्डको डालो भरिने वाला छैन, किनभने विगतको माओवादी धरातल एमालेको नियन्त्रणमा जाने क्रम रोकिएको छैन । बाबुरामसँग मुलेर नयाँ जनयुद्ध गर्ने कुरा यही टिप्पणी सही हुन्छ- खुट्टी हेर्दै चाल पाइयो !

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ०३ बजे