‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साँचो अर्थमा बुद्धजस्तै शुद्ध मान्छे

मान्छे भइरहन सकेन मान्छे
कोही हिन्दु, कोही बौद्ध
कोही ईसाई, कोही मुसलमान
अर्कैअर्कै धेरै बन्यो
मान्छे रहन सकेन मान्छे ।

ड्राइभर, खलासी, कन्डक्टर 
कोही बिरामी, कोही डाक्टर
कोही ग्राहक, कोही साहु 
मालिक बने कोही नोकर 
मान्छेमात्र बनेन मान्छे ।

कोही नेता, कोही अभिनेता
कोही हारा, कोही विजेता 
कोही शासक, कोही चाकर
कोही कसैका टोकरी, कसैका ढाकर
सबैको बन्न सकेन मान्छे ।

कोही काँग्रेस, कोही कम्निस्ट बने
वादी, विवादी, प्रतिवादी बने  
अरु पनि के के बने
मर्ने, मार्ने सबै बने
मान्छे मात्र बनेन मान्छे ।
​​​​​​​

जातको  भर्‍याङ ​​​​​​​ बनाउने मान्छे
कोही भर्‍याङको  माथि पुग्यो
कोही फेदमै परिरह्यो
कोही निचो, कोही उँचो कहलियो

मान्छे, मान्छे मात्र कहाँ रह्यो ?  

कोही पहाडी, कोही मधेशी
कोही भतुवा कोही निवासी
कोही कङ्गाल, कोही विलासी
मान्छे मात्र नरहने गरी 
कसले चँुडाल्यो मान्छे–मान्छे ।

जन्मदाको पहिचान
नारी मान्छे, नर मान्छे र अन्य मान्छे
आफै घर बनाउने मान्छे
मिलेर संसार चलाउने मान्छे
कसरी वानर बन्यो हँ ? मान्छे ।

भूगोलमा नक्शा कोर्ने मान्छे
बैरको नक्सा किन कोर्छौ
नक्सभित्र सबै बस 
मान्छेको सझा संसारभित्र
मान्छेमात्र बनेर पस ।

आफै भर्‍याङ बनाउने मान्छे
कोही मात्र चढ्न मिल्ने
कोही फेद मात्र पुग्ने
तिलस्मी  भर्‍याङ
​​​​​​​ होइन
मान्छे मात्र चढ्ने बनाऊ ।

 फूलबारी बनाउने मान्छे
माला गाँस्न सक्ने मान्छे
छरपस्टिएका फूलका सबै जातलाई
एकपल्ट फेरि गाँस   
मान्छे–मान्छेकोे मात्र माला गाँस । 

मान्छे त्यो हो 
जो मान्छे रुचाउँछ
त्यो होइन मान्छे 
जो मान्छे पचाउँछ,
छताछुल्ल पार्छ
बस्ती रित्याउँछ ।

आफ्नो एकलौटी कल्पनामा
मान्छे–मान्छे लडाउँछ
आसुको आहाल भर्छ
आँसुको आहाल मनपार्छ
यस्तो कहीँ हुन्छ मान्छे ?

सहरको महलमा होस्
या, पहाडको भञ्ज्याङ्मा
डाँडाको टाकुरा वा फेदीमा
बसेको होला मान्छे
मान्छेकै निम्ति हुनुपर्छ मान्छे ।

बन, बुट्यान होस् 
कि, चारकोसे झाडीमा
हिमालको काखमा 
तराईको मैदानमा
मान्छेकै हुनुपर्छ मान्छे ।
  
जो रगतमा रमाउँछ
जीवनको बारीमा मृत्यू रोप्छ
जीवनको विनाशमा उत्सव मनाउँछ
विध्वंशमा सिर्जनाको मुहानता देख्छ
त्यस्तो मान्छे हुँदैन मान्छे ।

मान्छे वंशको मान्छे 
मान्छेकै विनाशमा सत्ताको सपना देख्छ
सत्ताको सोपान भेट्छ
एक्लै वा हुलमा देखिए पनि
यस्तो त अहँ हुँदैहुन्न मान्छे ।

अब बन्नुपर्छ मान्छे
मान्छेको मान्छे   
मान्छेले रुचाउने मान्छे  
मान्छेलाई रुचाउने मान्छे
जो जो, जे जे भए पनि
साँचो अर्थमा बुद्धजस्तै शुद्ध मान्छे ।  

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ०७ बजे