आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मकवानपुर बस दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ को जुरीखेतमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका ७ यात्रुमध्ये  ६ जनाको परिचय खुलेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनारायण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । 

दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन । 

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएको उहाँले बताउनुभयो । 

बिहीबार दिउँसो हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ जोड्ने छोटो दूरीको सडक मार्गमा काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना.३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमा ६ र उपचारको क्रममा एक यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ०६ बजे