सडक यातायात क्रमशः सहजतातर्फ

मेलम्ची, इन्द्रावतीमा पाइन थाले माछा

सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । 

गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ ।

मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक  आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खाने मात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भन्नुभयो । 

काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताउनुहुन्छ । मेलम्चीका माछा निकै स्वादिलो भएको उहाँ बताउनुहुन्छ । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेसा बाढीका कारण सङ्कटमा परेको थियो । 

बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताउनुभयो । उहाँले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । 

माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो ।  रासस

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : ३४ बजे