आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हवाई सुरक्षाको अवस्थाबारे स्थलगत अनुगमनका लागि ईयूको टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई सुरक्षाको अवस्थाबारे स्थलगत अनुगमन गर्न युरोपेली सङ्घ ईयूको उड्डयन नियामक निकाय ईएसएसको टोली आगामी महिना काठमाडौँ आउन लागेको अधिकारीहरूले बताएका छन्।

नेपालले सन् २०१३ देखि ईयूको हवाई प्रतिबन्ध खेपिरहेको छ। त्यसको अन्त्यका लागि यसअघि भएका पहलहरू निरर्थक साबित भएका थिए।

यद्यपि ईएसएसको यसपालिको स्थलगत अध्ययनपछि ईयूले आफ्नो आकाशमा ‘नेपाली जहाज उड्न नपाउने गरी लगाएको प्रतिबन्ध’ हट्ने अपेक्षा अधिकारीहरूको छ। त्यसका लागि नेपालले यथेष्ट आधारहरू तयार गरिसकेको उनीहरूको भनाइ छ।

बिबिसीका अनुसार कतिपयका भनाइमा ईयूले त्यस्तो प्रतिबन्ध लगाउनुमा ‘प्राविधिकभन्दा राजनीतिक कारण’ रहेको जस्तो देखिएकाले यसै भन्न सकिने अवस्था भने छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार ईएसएसको टोलीले नेपाल आउने औपचारिक जानकारी नेपाललाई दिइसकेको छ।

यद्यपि त्यसको मिति तय भई नसकेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो। उहाँले भन्नुभयो, “अक्टोबर महिनामा नेपाल आउने भन्ने जानकारी आएको छ। तर कुन दिन आउने भन्ने निश्चित भएको छैन।” उहाँले यस पटकको अनुगमनपछि ईयूको प्रतिबन्धबाट नेपाल हट्छ भन्ने आफूहरूको अपेक्षा रहेको बताउनुभयो।

नेपालले सन् २०१३ यता हवाई सुरक्षामा धेरै सुधार गरिसकेको र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले समेत त्यस्तै प्रतिवेदन दिएकाले त्यस्तो अपेक्षा गरिएको उहाँको भनाइ छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : २५ बजे