थप ५७ वटा हिमाल आरोहणका लागि खुला

नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा   

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताउनुभएको छ । 

चुनाव केन्द्रित कार्यक्रममा गृह जिल्ला मकवानपुरमा रहनुभएका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहज रूपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।” 

राजनीतिक दलहरू विशेष गरी युवाहरू राजनीतिक स्वार्थको गोटी बन्नु नहुने उहाँको भनाइ छ । उहाँले सरकार र दलहरूको मर्यादाहीन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्नुहुँदै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हाबी भएको बताउनुभयो ।

संविधान पतन हुनबाट जोगाउन दलहरूको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै अध्यक्ष थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत बताउनुभयो । 

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : २३ बजे