‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एक गाग्री पानीका लागि कयौं दिनको निन्द्रा बिगारेकी धनकलाको घरमा धारो

 सुर्खेत । जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराले थाहा पाएदेखिनै खानेपानी संकट भोग्दै आईरहनुभएकाे छ । उहाँले एक गाग्री पानीका लागि कयाैं पटक दिन बिताउनुभएकाे छ ।  निन्द्रा बिगार्नुभएकाे छ । अब धनकलाले पानीका लागि न त दिन माया मार्नु पर्छ न निन्द्रा नै बिगार्नु पर्छ । 

घर आँगनमै पानी आएपछि नलगाड चिउरीका बासिन्दाले राहातकाे सास लिएका छन् । नहकुलीको पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै पानी ल्याएर धारा निर्माण भएकाे छ । अब धनकलाकाे घरमा चौबिसै घण्टा निरन्तर पानी आउँछ ।

धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दु:ख र संर्घषका दिन सम्झनुहुन्छ । ‘साना छोराछोरीलाई डोकाले छोपेर यहाँका मानिस पिउने पानी ल्याउन निकै टाढा जानुपर्थ्यो ’ उहाँ भन्नुहुन्छ, 'फर्केर आउँदा बच्चा रोईकराई गरेर निद्रामा परिसकेका हुन्थे ।’  

धनकला जस्तै ५१ वर्षीय रमिता विक पनि आँगनमै पानी आएपछि दंग हुनुहुन्छ। ‘आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि  मात्र पानी घरआँगनमै पायौँ’, उहाँ भन्नुहुन्छ, ‘पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दु:ख पाए।’ 

करिब एक सय ४० घरधुरी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा निकै टाढाकाे दूरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो । सबै मानिस पानी ल्याउन निस्कने समय एउटै हुँदा निकै बेर कुर्नु पर्ने अवस्था थियाे । नलगाड नगरपालिका –१ र २ का ६ सय ५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेपछि पानीका दुःख हटेको छ। कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालय र स्थानीयवासीको करिब साढे ४ करोड श्रमदानबाट खानेपानी  आयाेजना निर्माण भएकाे हाे ।  

०७४ सालमा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना पाँच वर्षमा पूरा भएको छ । १४ किलोमिटर ढाटाको दूरीबाट ल्याएको पानीबाट आधा दर्जन गाउँमा चौबिसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टंकबहादुर घर्तीले जानकारी दिनुभयाे। उहाँका अनुसार आधा दर्जन पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएइको हो ।

एक सय ५१ वटा ठुला ,साना ट्यांकी निर्माण गरी घर, घरमा पानी ल्याएको अध्यक्ष घर्तीले जानकारी दिनुभयाे। चिउरीको दलित बस्ती, गढी, छेप्का, बैरीताल चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौर लगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ। 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ५६ बजे